गलबन्दी चोरिको चर्चा बारे दिल निशानी मगरको कडा प्रतिक्रिया / हेर्नुहोस।

दिल निशानी मगर – लोकभाका/लोकबाजा भन्ने जिनिस प्रेमिका गर्भवती बनाएर दिल्लीतिर फरार भएको केटाको मनस्थिति जस्तो कमजोर हैन। यो लोकसँग हाँगाजरा गाँसिएको जिनिस हो। दश महिनापछि प्रसवपीडाका साथ बच्चा जन्माएर हुर्काउँदै गरेकी, समाजको नजरमा हेपिएकी महिलालाई मात्र आफ्नो रगतको सुन्दर सिर्जनाको महत्त्व थाहा हुन्छ। एक कलाकारलाई, एक सर्जकलाई आफ्नो कलासिर्जना त्यही रगतको डल्लो भन्दा प्रिय हुन्छ।

र हामीलाई लोकभाका भन्ने जिनिस आफ्नो सन्तानजत्तिकै प्रिय लाग्छ। सबै उस्तै लाग्छ किनभने लोकवासीहरूको भावना सबै उस्तै लाग्छ । वनपाखा, खोलानाला, लालीगुराँस, पहाड, झरना जसरी उस्तै उस्तै छन्, त्यसरी नै लोकभाका उस्तै छन।

प्रकाश सपुतका लागि एउटा हार्मोनियम बजाउने, शम्भु राईको वा अन्यको लागि अर्को हार्मोनियम बजाउने कुरा हुँदैन। हो, हार्मोनियमबाट निस्कने सारेगमपधनिसाका चालहरू भने फरक फरक हुन सक्छन् । प्रकाश सपुतका लागि एउटा मुरली बजाउने, शम्भु राई वा अन्यका लागि अर्कै मुरली बजाउने भन्ने कुरा पनि त हँदैन। हो, मुरलीको मिठासयुक्त धुनहरू भने फरक फरक हुन सक्छन। तपाईं मादल भन्नुहोस्, सारंगी भन्नुहोस्, डम्फु भन्नुहोस्, बिनायो भन्नुहोस् यी नेपाली लोकबाजाहरू एउटै हुन् । फरक यत्ति हो कि यिनीहरूले फरक फरक राग, ताल र मूर्च्छनाहरू प्रस्तुत गर्न सक्छन् ।

प्रकाश सपुत बाँचेको लोक यही लोक हो जहाँको भाका टिपेर उनी हप्तौंसम्म दोहोरी खेलेर रामरमितामा भुले । अब प्रकाश सपुतका लागि त्यस्तो किसिमको नयाँ, अलग्गै र बिछट्टै लोकभाका अनि लोकबाजा कुन ब्रह्माण्डबाट ल्याउने ? चन्द्रमाबाट ल्याउने ?

मैले चिनेको प्रकाश सपुत भर्खर नेपाली गीत संगीतमा केही गरौं भनेर उदाएको केटा हो। र मैले चिनेको शम्भु राई नेपाली गीत संगीतको लेजेन्ड आवाज हो । यहाँ हजारौं रामकृष्ण ढकालहरू जन्मे पनि नारायणगोपाल भनेका नारायणगोपाल नै हुन्। नारायणगोपालको तुलना सज्जन कुमार सिंहसँग हुनै सक्दैन । कोरियामा ५ वर्ष बिताएर फर्केको सज्जनले जतिसुकै गला तानेर स्वर फुकेपनि ऊ नारायणगोपाल बराबरको बन्नै सक्दैन। गला नपुगेको धोद्रो आवाजमात्र निकाल्ने हो ।

अर्का पनि छन् हाम्रा मित्र । राजेश बर्देवा हो उनको नाम । उनको आवाज एकदम सुरिलो छ । तर जतिसुकै सुरिलो भए पनि उनी शिव परियार समान कसरी हुन सक्छन्, यार । हो, सज्जनको आवाज सुन्दै गर्दा दुईचार बोतल बीयर निल्न सहज भने हुन सक्छ तर केवल पिउनेहरूलाई तर मलाई भने बीयरको स्वाद कस्तो हुन्छ थाहा छैन, चाखेको पनि छैन थाहै पनि छैन आमा कसम।

लोकभाका कसैको ठेकेदारी हैन । न प्रकाश सपुतको ठेकेदारी हो, न शम्भु राईको । लोकभाका हजारौं गायकले गाएपनि भाका भनेको नेपाली माटोकै हुन्छ ।
अब मैले गीत चोरेकै छैन, कालिका मन्दिरको कसम त्यो मेरै सिर्जना हो, पशुपतिनाथको कसम भन्दै बाटोमा हिँड्न प्रकाश सपुतलाई सुहाउने कुरा भएन । अब ऊ धम्जाको प्रकाश भाइ, बेनी कुहिने मंगले गलेश्वरतिर गीत गाउन गयो रे, हारेर आयो रे भने जस्तो हैन । ऊ ठूलो सेलेब्रिटी भइसक्यो । त्यसैले उसको सिर्जना कस्तो छ ? के ऊ चोर नै हो त ?

के ऊ भुइँफु्ट्टा नै हो त ? के गलबन्दी र अन्य कुनै गीतमा समानता छ त ? त्यो श्रोता दर्शकले पहिचान गर्ने, छुट्ट्याउने कुरा हो । र मलाई लाग्छ सम्भवतः श्रोताहरू धेरै चलाख छन् । टेक्निकल्ली पनि युवा पुस्ता नोज एभ्रिथिङ । यस्तो बेलामा शम्भु राई फुत्त कहाँबाट निस्किए ? कहाँ थियौ तिमी समयको पर्दा उठेपछि आयौ भने जस्तो एकाएक प्रलय नै भए जस्तो गरी शम्भु राई कहाँबाट निस्किए ? यिनलाई कसले बोक्यो ? कसले उचाल्यो ?

लाखे हाउ, मेरो नानी, मेरो बच्चा म चिन्दिनँ यार भन्दै टुप्लुक्क झुल्किएका शम्भु राईबारेको मेरो अथाह प्रेमको प्रसंग लेखौंला मध्यान्तरतिर । तर प्रकाश सपुत चोर हैनन् भन्ने मेरो दाबी विरोध मात्रै हो । प्रकाश सपुत अभिनयमा रुचि राख्छन्, भोलि उनी नायक हुन सक्लान् । अनि दिलीप रायमाझी जस्तो नाच्यो भन्लान् । के त्यो न्यायोचित हुन्छ त ? प्रकाश सपुतले राजेश हमालको जस्तै डाइलग हान्लान् । अनि के प्रकाश सपुतले राजेश हमालको नक्कल गर्‍यो भन्न मिल्ला र ? प्रकाश सपुत सिर्जनामा रहर गर्छन्, भोलि करन जोहर जस्तो फिल्ममेकर बन्न सक्लान् । अनि भोली प्रकाश सपुतलाई नचिनेर ऊ करन जोहर आयो भन्दै हल्ला गर्ने त ?

मलाई हजार प्रतिशत विश्वास छ, प्रकाश सपुत चोर बन्न सक्दैनन् । म उनलाई आफ्नी प्रेमिका जत्तिकै विश्वास गर्छु । अर्को कुरा, प्रकाश सपुतलाई यो डिजिटल जमानाको बारेमा राम्रोसँग थाहा छ क्या यार । मिडियामा काम गरेका प्रकाश सपुतलाई कपीराइटको बारेमा झन् राम्रोसँग थाहा छ । एक गम्भीर छविको, गम्भीर सोच बोकेको सिर्जनाकर्मीलाई आफ्नो सिर्जनाको माया र अरूको सिर्जनाको सम्मान हुन्छ । कतिपय मानिसहरूको केही आदतका विषयमा आँखा चिम्लेर नै विश्वास गर्न सकिन्छ । प्रकाश सपुत अरू कसैका सिर्जना चोरेर रमाउने मानिस हैनन् भन्ने यथार्थलाई विश्वास गर्न म एक करोड वर्ष आँखा चिम्लिन तयार छु ।

सर्जक तथा गायक प्रकाश सपुत र गायिका शान्तिश्री परियारको गीत ‘गलबन्दी’ यूट्युबको ट्रेन्डिङ १ मा पुग्न सफल भएपछि एकप्रकारको माहोल खडा भयो । सपुतले सबै गीत सबैलाई मन पर्ने किसिमको कहिल्यै गाएनन् होला । तर फरक फरक स्वाद भने चखाइरहे । जस्तो कि बोल माया मलाई अत्यधिक मन पर्‍यो । दोहोरी ब्याटल खासै मन परेन । तर दोहोरी ब्याटलमा झुम्नेहरू लाखांै छन् । यो गलबन्दी मलाई मनपर्‍यो तर बोल मायाकै अनुपातमा भने मन परेन । त्यो मेरो निजी कुरा भयो ।

तर गलबन्दी गीत वरिष्ठ गायक शम्भु राईले ५ वर्षअगाडि गाएको ‘देउसी भैली’ गीतसँग मिलेको भन्ने प्रचारपश्चात् भने मलाई बडो उदेक लाग्यो । श्रोताको हैसियतमा म यत्ति कुरा दाबाका साथ भन्न सक्छु कि दुवै गीतहरू फरक फरक छन् । लोकभाकाहरू प्रायः उस्तै उस्तै सुनिने हुने हुँदा लोकभाका टिप्नेहरूलाई संकलक भनिएको होला ।

प्रकाश सपुतको संकलन स्रोत पनि यही लोक हो । लोकभाका, लोकबाजा कसैको पेवा हुन सक्दैन । सबैले पाखापखेरामा सुनिने भाकाबाटै लय र शब्द तयार गर्ने हो ।

गलबन्दीको चर्चाका कारण हिजोसम्म प्रकाश सपुतलाई मान्छे नगन्नेहरू आज मान्छे मात्र हैन महामानव देखिरहेका छन् । तर मेरो नजरमा उनी केवल सामान्य पृष्ठभूमिका मानिस हुन् । एक सर्जक मात्र हुन् । नेपाली गीतसंगीतमा केही गरूँ भन्ने हुटहुटी भएका एक युवा हुन् । म उनको भावुक निजी जीवन कोट्ट्याउन चाहन्नँ । तर हाम्रो रस्तीबस्ती एकैठाउँ हो । गर्व लाग्छ । जो कोही बाटोमा भेट्दा झुकेर नमस्कार गर्ने सपुतले मलाई उनको बहुचर्चित सिर्जना बोलमायाको प्रिमियर शोमा महत्त्वका साथ बोलाएका थिए, मायाको चिनो पनि दिएका थिए ।

त्यसेलै उनले जे जस्तो गरे पनि सपुत नै देवता हुन् भन्ने पक्षमा यो राष्ट्रिय स्तरको स्तम्भकार छैन । यो सपुत गल्ती कमजोरी सहितका सर्जक हुन् तर चोर हैनन् । गलबन्दी उनले चोरेका हैनन् । लोकभाका चोरिने चीज हैन ।

तर नेपाली गीतसंगीतको स्वाद भने राम्रैसँग चाखेको छु । यो कुरा राम अविरललाई सोध्दा पनि फरक पर्दैन । नेपाली सुगम संगीतको बारेमा मलाई धेरै थाहा छ । लोकभाकाहरूका बारेमा भने अलिक कमै जानकारी छ । बच्चु कैलाश, पन्नाकाजी, मुरलीधरहरू चिन्छु म । मुरलीधर दाइसँग त केही दिनअघि करीब १ घण्टा सँगै बसेको छु । उडायो सपना सबै हुरीले भन्ने गीत प्रत्यक्ष सुनेर सुखद तर दुर्लभ अनुभूति गरेको छु ।

जसरी नेपाली भाषाको शब्दकोषबाटै नेपाली साहित्य लेखिन्छन्, यो साहित्य सिर्जना मेरो हो भनेर कुनै साहित्यकारले दाबी गर्न सक्छ तर यो भाषाको शब्दकोष नै मेरो हो भनेर कसैलाई दाबी गर्न सहुलियत छैन । गर्छ भने त्यो त हदैसम्मको लज्जास्पद काम हो ।
भनेपछि अब यी प्रकाश सपुत र शम्भु राई नचिन्ने त सवाल नै आएन । कुनै जमानामा चिठी तिमीलाई लेखूँ भन्छु, मनको कुरा मनमै रह्यो भनेर चिट्ठीबाहिरको खाममा राम्रा अक्षरले मिलाएर लेखिने दिन थिए तन्नेरीहरूका । अब यो तिमीले सम्झे नि लाखै छ तिमीले बिर्से नि लाखै छ भन्ने गीत त यस स्तम्भकारको मनमुटुमै छ ।

यसर्थ दाबाका साथ म यो भन्न सक्छु, गीत संगीतलाई चिन्ने र प्रेम गर्ने सवालमा मेरा निम्ति प्रकाश सपुतभन्दा शम्भु राई प्रमुख स्थानमा छन् । शम्भु राईको आवाजको योगदान भर्खरको भुरा प्रकाश सपुतसँग तुलना हुनै सक्दैन । चर्चा हुनै सक्दैन । कहाँ को हरेराम, कहाँको भण्डारी भने जस्तो । तर केही दिनयता शम्भु राईज्यूले निकै स्वर तानेर आफ्नो सिर्जना (बच्चा)लाई म चिन्दिनँ र भन्दै कराउन थालेका छन् ।

र परस्पर फरक शैलीको गीत गाएर, सुनाएर अलिक अस्वाभाविक हर्कत देखाएका छन् । ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ र ‘आऊ नाचौं साथी हो कम्मर कसेर’ । प्रकाश सपुतको गलबन्दीसँग आफ्नो आऊ नाचौं साथी हो कम्मर कसेर भन्ने गीत उस्तै उस्तै भयो, सबै मेरो लय चोरियो भन्ने शम्भु राईको आरोप छ ।

तर शम्भु राईका सयौं गीत मैले सुनेको छु । रेडियो नेपालबाट मात्र हैन, क्यासेटको जमानामा क्यासेट नै किनेर पनि सुनेको छु सानो वाकम्यानमा । तर यो आऊ नाचौं साथी हो कम्मर कसेर भन्ने गीत अहिलेसम्म सुनेको रहेनछु । गलबन्दी र यस गीतबीच समानता छ भन्ने सुनेपछि आऊ नाचौं साथी हो कम्मर कसेर भन्ने गीतलाई खोजेर सुनियो । यूट्युबमा रहेछ । गलबन्दी र यो गीत पालैपालो कम्तीमा पचासपटक सुनेहुँला तर मलाई छेउटुप्पा कहीँकतै मिलेको जस्तो लागेन, त्यस किसिमको अनुभूति भएन । धेरै श्रोताहरूको प्रतिक्रिया हेर्दा पनि गीत मिलेको भन्ने बहुमत कहीँकतै भेटिएनन् । हो, लोकभाका, लोकलय उस्तै उस्तै सुनिन भने सक्छन् । उसो त आऊ नाचौं साथी हो कम्मर कसेर जस्तै कैयौं गीत हाम्रो गाउँघरमा अन्य आमा दिदीबहिनीहरूले गाएको पनि सुनिन्छ । के त्यसो भए शम्भु राईले पनि चोरेकै हुन् त ?

तर मलाई त्यस्तो लाग्दैन, लोकभाका कुनै त्यस्तो नयाँ ब्रह्माण्डबाट ल्याउने चीज हैन । लोकभाकाको जननी लोक नै हो । यो समाज, यो संस्कार, यो भूगोल र यो संस्कृतिमा जे छन्, त्यसैलाई एक सर्जकले टिप्ने कुरा हो । कहिलेकाहीँ लोकभाकाहरू उस्तै उस्तै सुनिन पनि सक्छन् किनभने यो लोकको भाका हो ।

तर यो लोकको भाकाको मर्म र भाव भने फरक फरक हुन्छन् । यो पंक्तिकार कुनै गीत संगीतको समीक्षक हैन । तर एकदमै राम्रो श्रोता भने पक्कै हो । शम्भु राई लेजेन्ड हुन् । लोकलयका धरोहरले आज किन यसरी गति छाडेका छन् त्यो चाहिँ रहस्यको विषय हुनसक्छ । गलबन्दी र उनको आऊ नाचौं साथी हो कम्मर कसेर भन्ने गीत उस्तै उस्तै सुन्नेहरूले कानको डाक्टरलाई भेट्दा राम्रो हुनेछ ।

लोकभाका कसैको ठेकेदारी हैन । न प्रकाश सपुतको ठेकेदारी हो, न शम्भु राईको । लोकभाका हजारौं गायकले गाएपनि भाका भनेको नेपाली माटोकै हुन्छ । लोकभाकाले खास गरी नेपालको पहाडी जनजीवनसँग घनिष्ठ सम्बन्ध गाँसेको पाइन्छ । तर नेपालको सबैभन्दा पुरानो लोकसंस्कृति मैथिली भोजपुरीको पनि आफ्नै किसिमको विरासत छ । सयौ थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै हाम्रा भेषभूषा र संस्कृतिहरू पनि सयौंथरीका छन् । अझै लोकको लय, लोकको भाका, लोकको भाषा त हजारौं किसिमका छन् । रोदी, सोरठी, हाक्पारे मैले जानेका तीन उदाहरण हुन् । मैले नजानेका तर नेपाली भूगोलमा रमझम गर्दै बसेका यस्ता लोकलयहरू अनि लोकभाकाहरू कति छन् कति । पूर्वीय दर्शन र संस्कृतिमा यो हिमालयन रेन्ज निकै धनी छ । यहाँका बाजागाजाहरू पनि निकै फरक तर रोमाञ्चक छन् ।

जसरी नेपाली भाषाको शब्दकोषबाटै नेपाली साहित्य लेखिन्छन्, यो साहित्य सिर्जना मेरो हो भनेर कुनै साहित्यकारले दाबी गर्न सक्छ तर यो भाषाको शब्दकोष नै मेरो हो भनेर कसैलाई दाबी गर्न सहुलियत छैन । गर्छ भने त्यो त हदैसम्मको लज्जास्पद काम हो । तर कतिपय अवस्थामा सर्जकहरूले फलनाले मेरो चोरेछ भनेर आरोप लगाएको पाइन्छ ।

तर चोरेको र प्रभावित भएको कुरामा आकाश पातालको फरक छ । जस्तो कि, यो पंक्तिकार खगेन्द्र संग्रौलाको लेखनशैलीबाट प्रभावित छ, यसको मतलब यो हैन कि खगेन्द्र संग्रौलाको मैले चोर्छु । तर एकबारको जुनीमा नेपाली शब्दकोष हामी सबैको हो । चोर, डाँका, फटाहाको होस् वा भगवान् समान मनुष्यहरूको किन नहोस्, कसैका निम्ति विशेष शब्दकोष कसैका निम्ति कमसल शब्दकोष हुन्छ जस्तो मलाई अहिलेसम्म थाहा छैन ।

कुरा के हो भने लोकभाका पनि शब्दकोष जस्तै विशाल र बृहत् क्षेत्र हो, विधा हो । भौतिक चीजहरूको पक्ष पनि उस्तै हो । हिमालहरू केही अग्लो, केही होचो हुन सक्छन् तर हिमालहरू जहाँ पनि सेतो रंगकै हुन्छन् । नदीहरू केही सफा हुन्छन्, केही फोहोर । तर पानीको अस्तित्व केवल मुहान भएर बग्दछ, पानीको स्वभाव भने उस्तै हुन्छ । मानिसहरूकै कुरा गरौं न, मानिसहरू पनि कालो, गोरो, गहुँगोरो, खैरो रंगका हुन सक्छन् । नाको लामो, छोटो हुन सक्छ । आँखा र शरीरका बनोटहरू फरक हुन सक्लान् । स्वभावजन्य चीजहरू फरक फरक होलान् । तर मूलतः मानिसको झलक संसारभरि समान छन् । दुःखमा रुने र सुखमा हाँस्ने मानिसहरूको मानचित्र बनोट समान छन् ।

लोकान्तर र जि एस नेपालबाट साभार

 

प्रकाशित मिति २ असार २०७६, सोमबार १०:२३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस