नेता, कर्मचारी, ठेकेदार मिलेर बजेट सक्नेप्रति पूर्वप्रधानमन्त्री भट्टराईको आपत्ति

गोरखा : राजनीतिक दलका शीर्ष नेता र कर्मचारीको मिलेमतोमा काम नगरी विकास निर्माणको बजेट हिनामिना हुने गरेकोप्रति पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले चिन्ता ब्यक्त गरेका छन् । नियमित निर्वाचन क्षेत्रको भ्रमण गर्ने क्रममा गोरखा आइपुगेका नेता भट्टराईले जनतालाई बिचल्ली पारेर राष्ट्रिय ढुकुटी स्वाहा पार्न नहुने तर्क गरे ।

राजनीतिक दलका मान्छेहरु, प्रशासनका मान्छेहरु, ठेकेदार, इञ्जिनियरहरुको मिलेमतोमा विकास निर्माणको काममा बदमासी हुने गरेको छ’, सोमबार बिहान पत्रकारहरुसंगको कुराकानीमा नेता भट्टराईले भने, ‘रणनीतिक महत्वका योजना, आयोजनाहरु दसौं बर्षसम्म काम हुदैन, अलपत्र बनाइन्छ र बजेट हिनामिना गरिन्छ । यसरीचाहिँ राष्ट्रिय ढुकुटीको दोहन गर्न पाइँदैन, जनतालाई बिचल्ली बनाएर विकासका आयोजनाहरु बर्षौसम्म अलपत्र पार्न पाइँदैन ।

आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको बारकिलो, बारपाक सडक दसबर्षअघि देखि ट्रयाक खोलेर अहिलेसम्म कालोपत्रे नभएकोप्रति उनले चिन्ता ब्यक्त गरे । ‘रणनीतिक महत्वको बारकिलो बारपाक सडक, गोरखा आरुघाट सडक बिगत लामो समयदेखि अलपत्र भएको देख्दा मलाई भित्रदेखि नै पीडाबोध भइरहेको छ।

उनले भने, दूधपोखरी मार्ग जुन पञ्चायतकालको अन्तिमतिरदेखि काम सुरु भएको हो, अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । बेनिघाट, आरुघाट सडकको हालत त्यस्तै छ । प्रत्येकबर्ष बजेट आउँछ, ठेक्कापट्टा हुन्छ, तर काम नहुने र बजेट सक्ने गरिएकोप्रति उनले दुख ब्यक्त गरे ।

देखाउनका लागि मात्र पनि अरु ठाउँहरुमा असारे विकास भइरहेको तर गोरखाको रणनीतिक महत्वको सडकमा काम नभएको भन्दै उनले चिन्ता ब्यक्त गरे । ‘बजेट आइरहेको छ, ठेक्का पट्टा भइरहेको छ, तर काम किन हुदैन ? उनले भने, देखाउनका लागि मात्र भएपनि अरु ठाउँहरुमा असारे बिकास भइरहेको छ, तर यी सडकहरुमा एक इन्च काम पनि भएको छैन ।

प्रकाशित मिति १६ असार २०७६, सोमबार ११:४५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस