अनुभूति : सम्बन्धको हत्या

सरिता पौडेल
आफ्नो व्यस्त जीवनबाट केहि हिस्सा समय जोगाएर  म यो चिया पसल आइपुग्छु ।
‘दिदीको पुरानो चिया पसल’ थकान र चियाको तलतल मेट्न दैनिक जस्तो आइपुग्ने, यो व्यस्त शहरको चिया अखडामा खै कस्तो आत्मियता छ कुन्नि ?

मलाई लत छ सेतो चियाको ।

चिया पसलमा हरेक साँझ अनि बिहान मेरो जस्तै चियाको लत मेटाउनेहरु धेरै आउने गर्छन ।पसलमा दिनकै नयाँ आउनेहरुको सुचिमा सायद म त्यस्तो मान्छे हुँ जसले त्यो दिदीको हातको चिया नपिएको कुनै दिन होस । कहिलेकाही दिदीलाई जिस्काउछु म, ‘शहरले यति मिठो चिया बनाउने टेन्डर तपाईलाई नै दिएको छ कि के हो ?’

दिदि आफ्नो व्यस्तताको बाबजुद पनि एक मेलो मुस्कान फ्याक्छिन । एक दिनको कुरा हो चियाको चस्कीसंगै मेरो नजर एक जना पुरुषमाथि प¥यो । उसमा त्यस्तो के चिज थियो जसलाई म नोटिस गर्न बाध्य ?

मलाई लाग्यो जिन्दगीमा उ हाँस्न चाहेर पनि हाँस्न सकिरहेको छैन । उसको अनुहारमा यस्तै केहि भाव देखा पर्यो । उसो त पुस्तक पढ्ने फुर्सद एकदम कम भएपनि समयले मान्छेको अनुहार पढ्ने समय बेला मौकामा दिने गर्छ । काम पनि त उस्तै छ मेरो । उ म बसेको टेबलमै आएर बस्यो र  दिदि तिर फर्कदै भन्यो ‘दिदि मलाई एक कप चिया दिनु है ।’ त्यो अनुहार मेरो लागि एकदमै नयाँ थियो मैले उसलाई एक टक हेरी रहे उसले पनि मेरो अनुहारमा हेरेर बाध्यताको एक झोक्का हासों फ्याक्यो, आजकल बानी विग्रिएछ । मैले कुनै शब्द खर्च नगरी हल्का हाँसेर उसको भनाईको प्रतिक्रिया दिए । उसको मुहारमा प्रष्ट देख्न सकिन्थ्यो उ भित्र एक किसिमको उकुसमुकुस छ । उसले भन्यो, ‘बहिनी यतै कतै बस्नुहुन्छ हो ? कतै देखेको जस्तो लाग्यो ।’ उसले सम्बोधन गरेको बहिनी शब्दले मलाई भित्रै देखि आत्मियता जागेर आयो ।

‘नजिकै बस्छु,यतै कतै देख्नुभएको होला ।’  मैले सामान्य जबाफ दिए ।

उसले मलाई कतै देखेको भए पनि मेरो लागि त्यो एकदमै अपरिचित अनुहार थियो ।

मैले अन्तिम चुस्की लगाएर जान्छु भन्दैँ आफ्नो बाटो लागे । म घरमा फर्किदा सोचे उसले मलाई केही भन्न खोज्दै थियो तर सकिरहेको छैन । त्यो दिन आफ्नो काम र यस्तै केहि कुरामा बित्यो ।

अर्को दिन बिहान म आफ्नौ दैनिकी दोहो¥याउदैँ सोही चिया पसलमा चिया पिउदैँ पत्रिका हेरिरहेकी थिएँ,
साविक कै घटना घट्यो! उ आइपुग्यो मानौ हाम्रो पूर्ववत सर्त जस्तो । उसले म बसेको टेबल छेउमै आएर मुस्कुराउदैँ भन्यो ‘बहिनी गुड मर्निङ, आज पनि भेट भयो त हाम्रो सधैँ आउनुहुन्छ हो ?’ उसले कुराकानीको ढोका खोल्यो । मैले जवाफ फर्काए गुड मर्निङ, हो म सधैँ आउछुँ मलाई यहाँको चिया नखाई चित्तै बुझ्दैन् ।

सुरु भयो गफगाफ सिलसिला । उसले एक कप चिया अर्डर गर्दै भन्यो बहिनी पढ्दै हो कि काम पनि गर्नुहुन्छ ? मैले प्रश्नको जबाफ दिन नपाउदैँ उसको मोवाईलको घण्टी बज्यो, आफ्नो मोवाईल साइलेन्स गर्दै निन्याउरो मुख लगाउदै भन्यो ‘जसको फोन कहिल्यै नआओस् जस्तो लाग्छ, उसकै मात्र फोन आइरहन्छ । फोन फेरी पनि आयो । मेरो राम्रो बानी भनौँ या नराम्रो म प्रायः फेसबुक, भाइबर, इमेल, मोवाईलमा नै किन नहोस आएको म्यासेजको छिटो प्रतिक्रिया दिने गर्छु, त्यसैले पनि होला अरुलाई पनि आँफुलाई ठिक लागेको कुरा नसिकाउने कुरै भएन् । ३÷४ पटक सम्म फोन आइरहयो तर उसले फोन उठाएन जति फोन आउँछ त्यति नै मोवाईल साइलेन्स मात्र गरिरह्यो । मैले दाई कुनै महत्वपुर्ण काम परेर हुनसक्छ फोन उठाउनु भए हुन्छ नि कसको हो ?
यति भन्न नपाउदैँ उसले भन्यो, ‘यो फोन हैन टेन्सनको भकारी हो ।’

उसले अनायासै यस्तो वाक्य फुस्कायो । हरेक समस्याको समाधन त्यसको सामना गरेर मात्रै गर्न सकिन्छ, संसारमा हरेको समस्याको सामना गर्नुको विकल्प हुदैँन मान्छेमा ।

फोन नउठाएर पक्कै समस्या समाधान हुदैन होला कति दिन फोन नउठाएर समस्यासँग भाग्नुहुन्छ ? मेरो यो कुराले खै उसलाई कहाँ निर छोएछ कुन्नि! उसले ५ औँ पटकमा आएको फोन उठायो र साउण्ड लाउड स्पिकर ग¥यो । यताबाट हेलो भन्न नपाउदैँ उताबाट एउटी महिलाको आवाज सुनियो ‘मलाई भनेजति चाहियो, होइन भने म तिम्रो घरमा आइपुग्छु मलाई अरु केही थाहा छैन् । त्यसपछि जे हुन्छ त्यसको जिम्मेवार तिमी आफैँ हुनेछौँ ।’ यताबाट उसले डराउदैँ जबाफ दियो,
‘होइन होइन तिमी मेरो घरमा नआउ मेरो श्रीमति, छोराछोरीले थाहा पाए भने के भन्लान?अरुले थाहा पाए भने त म बर्बादै हुन्छु । म तिम्ले जे भन्छौ त्यो गर्न तयार छु । तिमीले मागेजति दिन तयार छु तर बिन्ती तिमी मेरो घरमा नआउ, बरु कहाँ भेट्ने कहिले भेट्ने ।’
‘उसो भए म तिमीलाई भेट्न चाहान्छु तर तिम्लाई केही समय पछि फोन गर्छु ‘ यति भन्दै उताबाट फोन काटियो । उसको मुटु वेगले धड्किएको प्रस्ट महसुस गर्न सकिन्थ्यो ।

म नराम्रोसँग फसेँ बैनी ।

घर परिवारले, थाहा पाए भने के भन्लान ?

समाजले के भन्ला ?

फोन टेवलमा राखेर लामो सास फेर्दै ऊ बर्बराउन थाल्यो । उसले म माथि आफ्नो अस्पस्ट समस्याको जालो फुकायो ।

त्यस्तो के चाँहि भयो होला जसले गर्दा उसको इज्जत चौपट हुन्छ ?

मनमा यस्तो अनुत्तरित प्रश्न उब्जियो । सोधौँ कि नसोधौँ एकछिन निकै अलमलम परिरहे र उसको अनुहारमा हेर्दै भने, ‘दाई केही तनाव छ हो हजुरलाई ?,को थियो त्यो फोन गर्ने महिला ?’

त्यसपछि उसले लामो सुस्केका हाल्दै आफ्नो कुरा शुरु ग¥यो, आजकल मलाई महिला संग बोल्दा डर लाग्छ त्यसैले पनि मैले तिम्लाई हतार हतार बहिनी भनेको हुँ । तिमी सँग मेरो कुनै जाना पहिचान त छैन, न त हाम्रो यो कुनै औपचारिक भेट नै हो । त्यही पनि कतिपय सम्बन्धहरु आत्मियताका हुन्छन् ।सायद तिमिसँग मेरो आत्मियताको सम्बन्ध हुनुपर्छ । कुनै अघिल्लो जन्ममा हामी मिल्ने साथि पो थियौ कि ?’

मैले सोधे– होइन भएको चाँही के हो ? अनि बर्बाद चाँही कसरी हुनुभयो?

‘रमाले मलाई नराम्रोसँग फसाई!’

रमा!

को हो रमा? मैले सोधे,

रमा मेरो गल्फ्रेण्ड हो उसले मलाई नराम्रो सँग फंसाई ।

उसले लामो सास फेर्दै आफ्नो कथा सुनाउन थाल्यो,’म एक विवाहीत पुरुष मात्रै होइन दुई वटा छोराछोरीको बाबु पनि हुँ ।

रमाले मलाई माया गर्छु भन्न थालि । मेरो पसलमा दिनहुँ आवतजावत गरेपछि उसले यस्तो कुरा गरेकी थिई ।

शुरुमा मैले म विवाहीत हुँ मेरा दुई वटा छोराछोरी छन् भन्ने कुरा नभनेको भएपनि, सम्बन्ध नजिक हुन थालेपछि सबै कुरा खुलस्त भनेको थिएँ ।

उसको श्रीमान पनि वैदेशिक रोजगारको लागी विदेश भएको कुरा मलाइ भनेकी थिई । उसको श्रीमानले आर्थिक रुपमा सुख दिए पनि अन्य सुख नदिएको कुरा उसले मलाई बेलाबेलामा भन्ने गर्थी ।

मित्रताको कसीमा परिवार हुदैमा के फरक पर्छ उसले कन्भिन्स गरी । विस्तार विस्तार हाम्रो सम्बन्ध असल मित्रताबाट अझ नजिक हुन् थाल्यो । सिमाहरु भत्किदै जादाँ म बेलाबेलामा भन्थे, ‘हामी परिवार भएको मान्छे यसरी सम्बन्ध बढाउनु ठिक हैन, सामाजिक तथा पारिवारिक सँस्कार यो प्रेम नामक जिवाणुले नस्ट हुन दिन हुदैन ।’

तर उसले हामी बिहे नगरौँला नि त के भो त?

म तिम्रो मायामा यत्तिकै बस्न सक्छु भन्न थालि । मैले पनि घर परिवारले थाहा पाउदैँनन् भने के नै हुन्छ र?आखिर कसैलाई थाहा हुने होइन क्यारे!

विहे पनि गर्नु पर्दैन भनेकै छे, भनेर उसलाई माया गर्न थाले अझ भनौँ माया भन्दा पनि उसँगको सम्बन्धलाई नजिक बनाउन थाले ।
करिब ६÷७ महिना हाम्रो सम्बन्ध खुब राम्रो रह्यो प्रायः दिनकै भेट्न थाल्यौ, चन्द्रगिरी, मनकामना, पोखरा हुदैँ सौराह सम्म घुम्न पनि गयौ ।

एक्कासी एक दिन उसले भनि,’तिमी सँगको सम्बन्धबारे सबैले थाहा पाउन थाले । म तिमीसँगको सम्बन्धलाई नाम दिन चाहान्छु ।’
म छागाँ बाट खसे जस्तो भए ।

अनि सोधे, ‘अनि श्रीमानलाइ के गर्छौ ?’

वास्तवमा उसको बिहे भएको रहेनछ । कि त मसँग बिहे गर होइन भने घरमा गएर हाम्रो सम्बन्धबारे सबैलाई भन्दिन्छु भनेर धम्कि दिन थालेकी छ म के गरौँ ?’

समाजले मलाई के भन्छ?

श्रीमतिलाई के जबाफ दिनु, छोराछोरिलाई के भन्नु, समाजमा कसरी मुख देखाउनु ? शुरुमा उसले बिहे गर्नु पर्दैन भनेकै कारण म पनि बहकिए,

म उसको माँयामा फसें जब उसले बिहे गर्ने कुरा गर्न थालि त्यसपछि पो बल्ल म झस्किएँ ।

उसको शर्त छ ‘मैले तिमिलाई माँया ग¥र्या हो अरु मलाई केही थाहा छैन, कि त मसँग विवाह गर होइन भने मैले मागेजति देउ म आफ्नो बाटो लाग्छु ।’

उसले पैसा सँग मायाको नाटक गरि । उसले एक सासमा आफ्ना गुनासो म माथि राख्यो । मागेजति भन्या चाँही के नी ? मैले प्रश्न गरे । कि त मैले उसँग विवाह गर्नुपर्छ रे होइन भने उसलाई २० लाख रुपैँया दिनुपर्छ रे, उसले मलाई २० लाख रुपैँया मागेर व्ल्याकमेल गरिरहेकी छे । यति भन्न नपाउदै उसको पुनः फोन आयो, मेरो कुरा नसुनी उ त्यहाँबाट निस्कियो ।

बढो गजबको कुरा । अचेल बजारमा यस्ता समस्या बढ्दो छ । यस्तै एकदुई जना नमुनाको कारण प्रेम प्रति मान्छेको आशक्ति घट्दो छ । शारिरिक तथा आर्थिक भोकलाई मेटाउन प्रेमको नाममा लुटको धन्दा भएको छ ।
अजिव लाग्यो ।

मेरो मनमा जिज्ञासा उत्पन्न भयो, घटना घटीसकेपछी दोषी को होला भन्ने जिज्ञासा उठ्नु स्वाभाविक पनि हो।
दोषि को होला?

आफ्नो परिवार श्रीमति र छोराछोरिलाई धोका दिएर क्षणिक रमाईलोको लागि कुनै वाह्य केटीसँगको सम्बन्धलाई स्विकार गर्ने त्यो पुरुष ?
वा आफ्नो आवश्यकता पुर्ति गर्नका लागि अरु कसैको घरबार तहसनहस गर्न तयार हुने महिला!
तराजुमा जोख्यो भने कुन तिरको भाग बढी ढिलपिल गर्छ होला ?

एकातिर समाज अर्कोतिर प्रेमको नाटक ………….

म आफै अनुत्तरित भएर चिया पसलबाट निस्के ।

प्रकाशित मिति २९ मंसिर २०७४, शुक्रबार १०:२४
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस