तराइमा पहिलो कांग्रेस, दुइ तिहाइ न आएपछि आत्तियो बाम

प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो भएको छ।

पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया प्रदेश नम्बर ५ अन्तर्गतका तराई जिल्ला हुन्। प्रतिनिधि सभाको समानुपातिक तर्फ तराईका सबै जिल्लामा कांग्रेस पहिलो भएपनि प्रदेशको समानुपातिक तर्फ भने रुपन्देही, कपिलवस्तु र बाँकेमा एमाले नै अघि छ।

रुपन्देहीमा प्रतिनिधि सभाको समानुपातिकमा कांग्रेसले १ लाख १५ हजार ३ सय १९ मत ल्याएको छ भने एमालेको १ लाख १३ हजार ५ सय ८४ मत आएको छ। तर प्रदेश सभामा १ लाख ५ हजार ७ सय ३१ मत ल्याएर एमाले पहिलो दल बनेको छ। कांग्रेसको १ लाख ३ हजार ६९ मत आएको छ। रुपन्देहीमा संघीय समाजवादी फोरम तेस्रो र राष्ट्रिय जनता पार्टी चौथो स्थानमा रहेका छन्। माओवादी केन्द्र पाँचौ स्थानमा रहेको छ।

कपिलवस्तुमा प्रतिनिधि सभातर्फ कांग्रेसले ६१ हजार २ सय ९२ मत ल्याउँदा प्रदेश सभाको समानुपातिकमा भने साढे ८ हजार कम अर्थात ५२ हजार ८ सय ४९ मत ल्याएको छ। तर एमालेले प्रतिनिधि सभा भन्दा प्रदेश सभामा ४ हजार ३ सय कम मत पाएको छ। एमालेले प्रतिनिधि सभाको लागि ६० हजार ९ सय ९४ मत ल्याउँदा प्रदेश सभाको लागि ५६ हजार ६ सय २० मत ल्याएको छ।

बाँकेमा कांग्रेसले प्रतिनिधि सभामा ५० हजार ८ सय ५६ र एमोलेले ४८ हजार ६ सय ९७ मत ल्याएका छन्। कांग्रेसले प्रतिनिधिसभा भन्दा प्रदेश सभामा ७ हजार मत कम ल्याएको छ। एमालेको ४ हजार मत मात्र कम आएको छ। बाँकेमा संघीय समाजवादी फोरम तेस्रो स्थानमा छ भने माओवादी केन्द्र चौथो स्थानमा रहेको छ। नवलपरासी, दाङ र बर्दियामा माओवादी केन्द्र नै तेस्रो स्थानमा छन्।

प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा र प्युठान जिल्लामा प्रतिनिधि सभा र प्रदेश दुवैतर्फको समानुपातिक तर्फ एमालेकै सबै भन्दा बढी मत छ। राप्ती अञ्चलका जिल्ला पश्चिम रुकुम र रोल्पामा भने माओवादी केन्द्र अगाडि देखिएको छ। सबै पहाडी जिल्लामा कांग्रेस दोस्रो स्थानमा छ। २ जिल्लामा एमाले तेस्रो स्थानमा छ भने एमाले पहिलो भएको ठाउँमा माओवादी केन्द्र तेस्रो स्थानमा छ। प्युठानमा भने राष्ट्रिय जनमोर्चा तेस्रो स्थानमा रहेको छ।

प्रदेश नम्बर ५ मा कुल ५ लाख ३३ हजार ६ सय १३ मत ल्याएर एमाले पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको कांग्रेसको ५ लाख ३० हजार ८ सय ४४ मत आएको छ। माओवादी केन्द्रले २ लाख ३९ हजार २ सय ८१ मत ल्याएको छ। चौथो स्थानमा संघीय समाजवादी फोरम, पाँचौं स्थानमा राष्ट्रिय जनता पार्टी र छैठौँ स्थानमा राष्ट्रिय जनमोर्चा रहेका छन्।

प्रदेश सभाको प्रत्यक्ष तर्फ कुल ५२ सिट मध्ये एमाले २८ स्थानमा विजयी भएको छ। माओवादी केन्द्र १४ र नेपाली कांग्रेस ७ स्थानमा विजयी भएको छ। संघीय समाजवादी फोरमले ३ स्थान जितेको छ।

प्रकाशित मिति १ पुष २०७४, शनिबार २०:१२
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस