जराको सौन्दर्य (कविता)

 

कविता 

 

अर्जुन दृष्टि पौडेल

 

सधै सधै अध्यारोमा बसेर,

सधै सधै गुमनाम भएर,

जराले निर्माण गरिदिन्छ रुखको सौन्दर्य,

तिमीले अब त बुझ्नु पर्छ कि

अध्यारो सधैभरि खराब हुदैन,

यो एउटा गुण हो कुनै कुरुपता होइन ।

 

सधै सधै रुख भोकाउदा खाना ख्वाइरह्यो

तर कहिल्यै फलको आशा राखेन,

उसले कहिल्यै मागेन बोटमा फुलेको फुलको मूल्य,

सधै सधै प्यास लाग्दा रुखको प्यास मेटायो

तर कहिल्यै मागेन तिर्खाको मूल्य,

कहिल्यै इर्श्या गरेन हरियालीको,

उसले कहिल्यै

माटो भनेको फोहोर हो भन्नेहरुसंग जवाफ मागेन,

अब त तिमीले बुझ्नुपर्छ प्रश्न नगर्नु भनेको बोल्न नसक्नु होइन ।

 

जराले आफ्नो बाटो बनाउदा भत्काएन कसैको बाटो,

एकाध पल्ट बरु ठोकियो होला पहरोसंग

तर पनि गुनासो गरेन कसैसंग,

आफैले सिक्यो आफूबाट पाठ

तर कहिल्यै भनेन बोटलाई,

उस्लाई दिन र रातसम्म थाहा छैन

उसले आफ्नो जन्मदिन मनाउदैन

अब त तिमीले बुझ्नुपर्छ

कसैले जन्मदिन मनाउदैन भने

यसको मतलब यो होइन कि उ मरिसक्यो  ।

 

उसले कहिल्यै

पत्थरको विचमा पनि आफ्नो अस्तित्व मेटाएन

उसले कहिल्यै भ्रमको फुल फुलाएर झारेन

उसले कहिल्यै आशाको फल कसैलाई देखाएन

र पनि सधै सधै उनीहरुलाई वचाउन सहयोग गर्यो

अब त् तिमीले बुझ्ने पर्छ

नदेख्नु र नबोल्नु बहुत फरक चिज हुन् ।

 

फेरि एकपटक  चुनाब आयो गयो

हामीहरु फेरि यसरि नै जरा भयौं,

तर यसपाली चाहि तिमीले बुझ्नु पर्छ कि

जरा नभएको रुखको मृत्यु कति कुरुप हुन्छ ।

प्रकाशित मिति १० पुष २०७४, सोमबार १८:०१
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस