एकयात्रा : अन्त्य एक अादर्शको

म नारायणगढमा जन्मिएँ,एकयात्रा बाँचें र कोहलपुरमा मेरो इहलिला समाप्त भयो।

******

…त्यसपछि म भन्छु – भाग्यमानीको भुतै कमारो। दिनेशले अझ तीब्र अावाज गरेर भन्छ- भाग्यमानीको भूत मात्रै हैन, भुतका तरुनी छोरी पनि कमारो हुन्छन्। हाँसोले बिकराल रुप ग्रहण गर्छ। साथमा ब्रह्मचारी गुरु लगायतका अादरणीय व्यक्ति भएकाले मुखबाट अकस्मात चिप्लिएको वाक्यलाई दिनेशले मिल्ने भए फिर्ता गरिसकेको हुन्थ्यो।तर त्यस्तो नहुने रहेछ। ब्रह्मचारी गुरुजीले नेपालीले बाँच्ने गरेको अौषत मृत्युदर बाँचिसक्नु भयो क्यारे ।मैले अाजसम्म दुखाइलो अनुहार देखेको छैन उहाँको। मान्छे बिना अर्धाङ्गिनी,बिना सन्तान पनि त खुसी हुँदा रहेछन् त। हुन त मान्छे कहाँ एक्लो हुन्छ र ? पञ्चमहाभुतले बनेको शरीर एक्लेभुतजस्तो कहिल्यै बन्दैन।

मान्छे एक्लै कहिल्यै मान्छे नहुँदो रहेछ। त्यो त केवल मुर्दा हुँदो रहेछ। मान्छेसँग क्रोध छ,डर छ,लोभ छ,वितृष्णा छ। यी सांसारिक सारा चीज छन् त- एकरात यस्तै उकालो सोचाइ सोचें मैले । अध्यात्मतिर ज्यादा नुगेको भएर हो कि मलाई संसार कस्तो कस्तो बेदले भनेजस्तो मिथ्या लाग्छ। सबै नासवान छन्- पति,पत्नि,पुत्र। भर्खर उता गीताको स्वाध्ययन पनि चलिरहेको छ। मैले काँचो उमेरमै के के सोच्न थालिसकेको छु।बर्षौं भगवानको अाराधना गरेर एउटा जाबो भोलि नष्ट हुने पुत्र माग्छन् मान्छेले। दुख मागेजस्तो लाग्छ मलाई। पुत्र प्राप्ति पनि सुख हो भनेर मैले वकालत गर्दा हजुर बुबाले एउटा अाफूले भोगेको कुरा सुनाउनु हुन्थ्यो-

“हेर केटा,हाम्रो पालामा नुन लिन खस्यौली जानू पर्ने। सात दिनमा पुगेर अाइन्थ्यो। जाँदा घ्यूका टिन बोकेर जानू पर्ने,अाउँदा नुनका बोरा। हामी उकालो अाउनुभन्दा केही अघि अा-अाफ्नो भारीमा तीनचार किलोजत्तिका ढुङ्गा राख्थ्यौं। जब उकालो सुरु हुन्थ्यो,हामी ढुङ्गा निकालेर फाल्थ्यौं। अाधा वजन घटाएजस्तो हुन्थ्यो। त्यसपछि सजिलोसँग उकालो चढ्थ्यौं हामी। यस्तै अानन्द हो सन्तानबाट प्राप्त हुने। परमात्मको चिन्तनमा लागे त ढुङ्गा मात्रै हैन भारी नि फ्याँकिदिन सकिन्छ” – यस्तै भन्नुहुन्थ्यो। म थोरैथोरै बुझ्थें। “छोरा भनेको केवल दुख त हो नि।सानोमा मर्छ कि भन्ने पीर,ठूलो भएपछि मार्छ कि भन्ने पीर” – हजुरअामा बेलाबेला यस्तै केही भन्नूहुन्थ्यो। धेरैथोरै कसैलाई प्रेम पनि गरें क्यारे मैले तर बहुत असन्तुष्टि मात्रै बाँकी रह्यो मभित्र। प्रेममा संसार अडेको छ रे,कहाँनीर अडेको रैछ भनेर पनि सोचें। प्रेमको चरमबिन्दु र सिसिफसले ढुङ्गा अडाउनु पर्नें ठाउँ एकै रहेछन्।

मतिर बग्ने हावा नै यस्तै थियोे। मैले सोचिरहेको थिएँ- वैवाहिक जीवनमा सामेल हुन्न,म बिवाह बन्धनमा पर्दिन कदापि। हुन त यो फैलिदो उमेरको मध्यभागमा पुगिसक्दा अध्यात्मवादी सोचाइ बोक्दा बोक्दा खोला छेउको कर्कलोजस्तो लल्याकलुलुक भैसकेको मेरो मस्तिष्क। विक्षिप्त सत्यलाई सिनो बोकेजस्तो बोकेर हिड्नु अर्को दुर्भाग्य। निम्नचाँपीय परिधिभित्र घुमिरहनु अर्को उखु पेल्ने कोल छेउको गोरुजीवन।यिनै सोचाइलाई समेटेर एउटा अादर्श स्थापित भैसकेको थियो मभित्र।

कठै! म।

अादर्शहरू यति सजिलोसँग थोत्रा हुँदा रहेछन्,भत्किदा रहेछन् कि मलाई थाहै थिएन।

अस्तिको यात्राकै कुरा गरौं न। म एउटा लामो यात्राका निम्ति नारायणगढबाट बस चढें। म ढोकैनिरको सिटको झ्यालतिर बसें। गाडी सुस्त गुडेर नारायणी पुल कटिमात्रै के सकेको थियो। अाधा दर्जन जति मान्छे बसमा चढे। कस्तो दुर्भाग्य ! या सौभाग्य ? के भनूँ ती सबै महिला थिए। एउटी जवान महिला मेरै सिटमा अाएर बसिन्। मलाई अफ्ठेरो भो,म खुम्चिएर बस्नु पर्यो छोइएलाकि जस्तो गरेर। बस अाफ्नो गतिलाई कायम राखेर चलि नै रहेको थियोे। एउटा महिलाको समूह नै बसमा भएपछि हल्ला नहुने कुरै थिएन। कुरा त के भयो भने ती महिलाले ‘मलाई झ्यालतिर बस्न दिनुस् न’ भनेर बढो अाग्रह गरिन्। उनको ‘झ्यालतिर बस्न दिनुस्’ भन्ने यो वाक्यलाई मलजल गर्न अर्को वाक्य थियोे ‘मलाई गाह्रो हुन्छ,तँपाईंलाई समस्या पर्छ पछि,त्यसैले दिनुस्’ । उनले एउटा वकिलले भेट्टाएको ठूलो प्रमाणजस्तो समयसमयमा त्यो वाक्य पेस गरि नै रहिन्। मैले भन्थें, “तँपाईलाई समस्या परेपछि छोडिहाल्छु नि म”।

चोरमारानिर बसले सुअादी कार्य गर्नका निम्ति रोक्यो। स्वादिकार्ये इति रुपं सिद्धम् गरेर म जब बसमा पुगें उहाँ पहिले नै म बसेको सिटमा बसिसक्नु भएछ।भन्नूभयो “म बस्छु है ?” मैले एकछिन सोचेजस्तो गरेर हुन्छको भावमा टाउको हल्लाएँ। उहाँले अौपचारिकताको स्वादमा धन्यवादादी चीज प्रदान गर्नु भो। मैले केवल ‘ए !’ भनें अावाज निकालेर। सुनवल पुगेर खाना खान रोकियो बस। ड्राइभरले खानाखान सबैलाई धोद्रो अावाजमा अनुरोध गरे। म होटलमा बसेर रोटी मगाएँ। खासमा म होटलमा खाँदिन,यो भन्दा पनि म यात्रामा खाँदिन। तर लामो यात्रा भएकाले केही खानु पर्छ भन्ने लागेर रोटी च्यात्न थालें। जिन्दगी जिएकाहरुको मुखबाट सुन्न पाइन्छ- जिन्दगी लामो छ बाबै। खै! होला कि। तीनओटा रोटी च्याते बापत डेढसय पचास तिरेर निस्किएँ। कस्तो अद्भुत महङ्गो भान भो मलाई। यसरी त रज्जुमा सर्प पनि भान भएको थिएन।

बसमा चढ्दा नचढ्दै एउटा अावाजले कान कोतेर नक्षर बनेर अाकाशमा बिलाउँछ, “खान जाअौं पनि भन्नू भएन त।”

“अहो! खानु भएन र? जाऊँ हिड्नुस्।”

उहाँ अल्लिउता सर्नु भो ,म सन्त्रासका साथ बसें।

मानौं बम हो ऊ,छोइए पड्किहाल्छ। झन त्रास बढ्यो मलाई। उहाँले चुइङ्गम चपाउदै हुनुहुँदो रहेछ। कतै चुइङ्गम उकासेर त पड्काउनु हुन्न ? बम पड्काउने भन्दा ज्यादा खतरनाक लाग्छ मलाई चुइङ्गम पढ्काउने। चुइङ्गम सम्बन्धि छुट्टै कथा छ मेरो ।

२ कक्षामा पढ्दा माइला बाले बिजुली सिग्रेट किन्न पठाइरहनु हुन्थ्यो। एकदिन त्यस बापत एक रुपैयाँ ज्याला पनि पाएँ। त्यसको तुरुन्त चुइङ्गम किने मैले। एकछिन चपाएको के थिएँ,स्कुलमा ठुली दिदीहरुले जस्तो फुल्लाएर फोको पारेर फुटाउनु रहर चलिहाल्यो।जिब्रोको टुप्पामा राखेर के फुउउउ गरेको थिएँ फोको उठ्नुको सट्टा त चुइङ्गम पर धुलोमा उछिट्टियो मुखबाट। यताउता हेरें धेरै मान्छे रहेछन्,टिप्ने साहस भएन मसँग। कोही हुँदैन थे भने टिप्दो हुँ। कमिजको बाहुलामा धुलो पुछेर फेरि चपाउँदो हुँ। दिनभर चपाउँदो हुँ। चियानास्ता खाँदा हातमा राख्दो हूँ झिकेर। फेरि सकेपछि चपाउँदो हुँ। साँझ कतै टाँस्दो हुँ। फेरि सबेरै उठेर चपाउँदो हुँ। बहुत रहर लागेको थियो चुइङ्गम चपाउने। तर अर्कोपटकदेखि दुस्साहस भएन फोको फुलाएर पड्काउने। क्रमशः बढ्दो उमेरसँगसँगै चुइङ्गम खाएर बेन्चमा टाँसिदिन थालें।एकदिन जब देवघाट जाने बसको सिटमा कसैले चुइङ्गम टाँसिएको रहेछ र म थचक्क बसें। अन्त्यमा झर्दा मात्रै थाहा पाएँ चुइङगम टाँसिएको छ भन्ने। बहुत रिस उठ्यो अमुकसँग र अन्त्यमा ब्रह्मज्ञान भो मलाई अब कहिल्यै म चुइङ्गम खाएर स्कुल बेन्चमा ,बसका सिटमा टाँस्दिनँ भन्ने।यसरी एउटा राम्रो अार्जन भो। रत्नाकर वाल्मीकि बन्नु भन्दा अझै धुरन्धर तरिकाले ब्रह्मज्ञान भो। अाफूलाई परेपछि चेत खुल्छ नि त। यो बहुत झिनो कुरा हो,तर जब चुइङ्गम टाँसिन्छ नि पाइन्ट पछाडि तब तपाईंलाई नि ब्रह्मज्ञान हुने छ।

बुटवल अायो। नेपालको अलिक सफाजस्तो सहर हो बुटवल। भनौं पोखरापछि को पहिलो नै। मलाई उधुम माया छ यो सहर प्रति।जिन्दगीमा पहिलो पटक बस चढेर अाएको सहर हो।

छेउमा भएकी मान्छेले प्रश्न गर्नुन्छ,”मुर्गीया अाउन अझै कति लाग्छ?”
“३५ मिनेट जति।”

ठिक अगाडि सिसाको एक छाती खुम्च्याएर उभिएको बसको ढोकामा अाँखा पर्छन् मेरा। गाढा तरिकाले हेर्छु। दुईजनाको धुमिल अाकृति देखिन्छ। एक म हुँ।अर्की युवती रहिछन्। जोमसोममा किनेजस्तो पुरै घाँटीबाट माथि ढाक्ने टोपी, नेत्रभन्दा चारगुना ठुलो सिसा भएको उपनेत्र, एउटा सेतो इयरफोन छाती हुँदै कताबाट निस्किएर कानतिर गैरहेको, गोरो ठिक्क मिलेको अनुहार ,एउटा युरोपियन रुमानी कविताको हरफजस्तो। म सिसाबाट अाँखा झिकेर अाफ्नै छेउमा हेर्छु। इयरफोनमा बजिरहेको गीतको प्रभावले सुस्तसुस्त हल्लिरहेको एउटा शरीर। बोलूँ बोलूँ लाग्छ मलाई तर मसँग युरोपियन लवजको प्रश्न छैन,न त उत्तर नै। एकछिनपछि उहाँ अाफै सोध्नुहुन्छ,”कहाँ पुग्ने हजुर?”

“कोहलपुर ।”

“किन नि?”

“रुममा बस्दा बस्दा अल्छी लागेर।”

एउटा राम्रो हाँसो पोखेर धुमिल प्रकृतिलाई पखाल्छे ऊ।

झट्ट तुवाँलो हटेजस्तो हुन्छ। अल्लि निसंकोच हुन्छु म। उसले म्यानेजमेन्ट पढ्छु भन्छे। मैले भन्छु- निधारमाथि हेर्दा त अझै अव्यवस्थित नै हुनुन्छजस्तो लाग्छ त। ऊ बुझ्दिनँ। भरतपुर घर बताउछे। हाकिमचोकनिरको कुन्नि कुन कलेजको नाम लिएर त्यसैमा पढ्छु भन्छे। म संस्कृत पढ्छु भन्छु। ऊ थोरै अाश्चर्यका साथ भन्छे- अो ब्राह्मिन्स। यात्रु व्यवस्थापकको कर्कस अावाज सुनिन्छ- मुर्गीया अायो। ऊ झर्छे। म झ्यालबाट झोला दिन्छु। हात हल्लाउछे। मुस्कुराउछे मानौं उसको मुस्कुराउनु कर्तव्य हो। बस अल्लि पर पुग्दा पनि ऊ त्यहीँ उभिरहेकै थिई। हुन सक्छ यहाँबाट कता जाने हो भन्ने दोधारमा छे। म अल्लि पर पुगेपछि उसको नाम बिर्सिन्छु। सम्झिन बहुत प्रयास गर्छु तर सक्दिनँ।यत्तिकैमा बस गोरुसिङे पुगिसक्छ। मेरो छेउको सिट खाली छ। झोला राखेको छु। एउटा यात्रु चढ्छ। झोला सारिदिन्छु मन नलागीनलागी।झोला काखमा राखेर अाँखा चिम्लिन्छु। जाग्दा शिवराजको जङ्गलमा पुगिसकेको हुन्छु म।

मेरो छेउको मान्छे झरेर अर्को नयाँ मान्छे बसेको हुन्छ। ऊ पनि धानखोला पुगेर झर्छ। छेउको सिटमा मेरो झोला बस्छ त्यसपछि।

भालुवाङ पुगेपछि बस एकछिनलाई रोकिन्छ। म शौचालयको तलासमा हुन्छु। बाटो काटेपछि शौचालयमा पुग्छु। फर्किदा हात पखाल्दा भित्ताको ऐनामा अनुहार देखिन्छ। कस्तो विरुप देखिन्छु। दाह्री बेस्वादिलो लाग्छ। नसुहाएजस्तो। यो खुसीको कुरा हो धेरै दिनपछि अाज सौन्दर्यबोध भएको छ मलाई। दिनले अन्तिम अन्तिम अायु जतन गरिगरी बाँचिरहेजस्तो, रातले अाफ्नो अस्तित्व स्थापना गर्ने दौडमा निस्किन अाँटेजस्तो,रुखको पात झर्नै अाँटेजस्तो,नयाँ पालुवा पलाउन खोजेजस्तो,कस्तो कस्तो। म बसमा पुनः चढ्छु। ठिक मभन्दा दाइनेतर्फको सिटमा दुई तन्नेरी उमेरको मध्यसमय बाँचिरहेका एकजोडा दम्पति छन्। दम्पति मध्यबाट पति उठेर बाहिर जान्छ। एकछिनमा एउटा प्लेटमा चारप्रति फुल्की लिएर अाउँछ। तिनप्रति पत्नीले खान्छे। एक पतिलाई खुवाइदिन्छे। समानुपातिक दृष्टिले हेर्दा अल्लि अर्कै देखिन्छ। तर कसैले खुवाइदिएको एक गाँस र अाफै खाएको एकपेटको स्वाद तराजुमा राख्ने हो भनें एक गाँस बहुत भारी स्वादमा देखापर्छ। म अाफ्नै सिटबाट पछाडि फर्किएर हेर्छु। (जीवनको कुइनेटोबाट बेसी हेरे जसरी ) बिहान नारायणगढबाट चढ्दा बसमा यतिधेरै मान्छे थिए कि म बेला बेला भनिरहेथें ड्राइभरसँग- एकछिन रोक्नुहोस् न,सास फेरौं। ड्राइभरले भनिरहेथ्यो- यहाँ पिसाब गर्ने ठाउँ छैन,जङ्गलमा पुगेपछि रोक्छु। भनाइ ,सुनाइ र बुझाइ कस्तो बेमेलको थियोे हामी दुवैको। तर मैले सजिलोसँग पचाइदिन्छु। धेरै सम्बन्धका कमिज त यस्तै तालमेल नमिल्नाले च्यातिन्छन्। अहिले धेरैमा अाठजना छन् बसमा। रित्तिने क्रम जारी छ,हाम्रो अायुजस्तै। अोर्लिने सिलसिता यथावत छ, सम्बन्धबाट जस्तै।

बसले फेरि अाफ्नो गति समात्छ। बर्षौंदेखि लम्पसार सुतिरहेको बाटो। कस्तो अानन्द छ बाटोलाई – कहीँ पुग्नु छैन। लमही अाउँछ,कुसुम अाउँछ। जङ्गल अाउँछ,चिसो अाउँछ। अाउनेहरुसँग खासै मतलव रहेन। अाँखा बन्द गर्छु । जोन एलिया अाउँछन्,भन्छन्-

“वो जाे ना अाने वाला है न, उसे मुझे मतलब था,
अाने वालाैँ से क्या मतलब अाते, है अाते हाेङ्गे ”

बाँके राष्ट्रिय निकुञ्जको प्रवेशद्वारनिर बस रोकिन्छ। यात्रुव्यवस्थापक झटपट झरेर उता दौडिन्छ। झ्यालबाट हलुका उज्यालो देखिन्छ जङ्गलतिर। मेरो अाँखामा चपाइएका अनुहारबाट सुटुक्क निस्किएर कालो ढेंडु बाँदर्नी देखा पर्छे। ऊ बुढी भैसकिछ। कस्तो दुब्लाएकी। अझै एक्लै रहिछ। अनन्त कहाँ पुग्यो होला ? किमरिख कहाँ पुग्यो होला? कहिलेकहिले उपन्यासका पात्रको पनि अत्यन्त सम्झना लाग्छ।

अाठ मिनेट जति भैसक्यो। अार्मीको केरकार सकिएको छैन। अलिक बाक्लो केरकार भयो क्यारे। अल्लि अघि मात्रै हो क्यारे ड्राइभरले मुखमा गुड्खा हालेको। मुखमा थुक भरिएको छ ड्राइभरको। अाठ मिनेटजति भ‌ैसक्यो थुक्न नपाएको पनि। मुखमा थुकभन्दा धेरै अनुहारमा थुख्न नपाउँदाको कष्ट जम्मा भएको छ। अलिक उकालो रहेछ यहाँनिरको नियम। थुक्न पनि नपाइने।ड्राइभरले नै भनेको हो अघि- बसबाट केही फोहोर नफाल्नु होला ह‌ै। नियम भनेको नियम नै हो। यस्तै नियम व्यवस्थित तरहले देशभर भैदिए कस्तो जाति हुन्थ्यो।

बस हिंड्छ जङ्गलको बिच बाटो टेकेर। रातले अाफ्नो रङ बढाउँदै लगेर बाक्लो कालो बनाउँदैछ। छेउछाउका रुख भर्खर कालो रङ भएको पोखरीमा डुबाएर निकालेजस्तै प्रतीत भैरहेछन्। बगेको उमेरलाई सम्झिएर सकिँदो उमेरको कुइनेटोबाट जिन्दगीलाई हेर्दा देखिएको अँध्यारोको रङ जस्तै छ जङ्गल। हावाले चिसोपनलाई बढवा दिएकाले हावा चिसोबाट बढेर तितो चिसो भैसकेको छ। म ढोकानिर बसेकोले अझ धेरै चिसो बढिरहेछ मलाई। पल्लोपट्टीको सिटतिर अाँखा जान्छन् मेरा- जहाँ दुई दम्पति रहेकाछन्। पत्नीले अाफूले अोढिरहेको बाक्लो मजेत्रो पतिको शरीर तर्फ फैलाउँछे। अब दुबै मजेत्रोमा बटारिन्छन्।पति पत्नीको कुमतर्फ ढल्किएर सुत्छ। अकस्मात ठूलो चिसोले अाक्रमण गर्छ मलाई जसको असर छातीसम्म पुग्छ। एकदम चिसो लाग्छ छातीमा। नमज्जाइलो चिसो हुन्छ छाती। यसै यसै अाफ्नो छेउको सिट छाम्न पुग्छु म। केवल अाफ्नो कालो झोला फेला पर्छ। म जुरुक्क उठेर अन्तिम सिटमा गएर बस्छु। फेरि एकछिनमा अघिकै सिटमा अाएर बस्छु।छटपटी छुटिरहन्छ। म यता उता गरिरहन्छु।चिसोले लगातार हानिरहन्छ। कोहलपुर पुगेपछि बस रोकिन्छ। म झर्छु ,दम्पती पनि झर्छन्।हाम्रो यात्रा सकिन्छ।

*******
मलाई यो यात्रा एकदिनको यात्राजस्तो लागेन। मैले यसैलाई एक जिन्दगीको यात्रा सम्झिएँ। कति सजिलोसँग भत्कियो मेरो अादर्शको घर।मेरो अादर्श चपाएका अनुहारमाझैं क्रमशः हायनरिकलाई निल्ने गोही भएको पोखरीमा धकेलिएजस्तो लाग्यो। हर अनन्तले अाफ्नो टामीगनले हानेर अादर्शको छातीमा यतिधेरै छिद्रा पारिदिएजस्तो लाग्यो कि मानौं एउटा हजारौं अाँखा भएको अाँखीझ्याल तयार भएको छ,जसका प्रत्येक छिद्राबाट पालोपालो हेर्दै देवकोटा लवजमा भनिरहेको छु मैले, “कथा एउटा अाँखीझ्याल हो जसबाट सानो संसार चिहाइन्छ।”

प्रकाशित मिति ६ माघ २०७४, शनिबार ११:५८
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस