होटल अमादब्लममा यसरी भएको रहेछ आदित्य गुरुङको हत्या (भिडियो)

गत बुधवार राती काठमाडौंको पशुपति भिजनस्थित होटल अमादब्लममा आदित्य गुरुङको हत्या भयो। होटलकै कर्मचारीको संलग्नतामा गुरुङको हत्या भएपछि होटलको सुरक्षा व्यवस्थाका सम्बन्धमा समेत प्रश्न उठ्न थालेका छन्।

बुधबार होटल अमादम्बलमा गुरुङको हत्या भएपछि प्रहरीले घटनामा संलग्न भन्दै होटलका पाँचजना कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। भारतको सिलिगुढी स्थायी घर भएका गुरुङ माइती नेपालका कर्मचारीसमेत थिए। उनले ‘होस्टल वार्डेन’ र बास्केटबल ‘कोच’ का रुपमा काम गर्दै आएका थिए।

यसरी भयो घटना
बुधवार साँझ आदित्य गुरुङ माइती नेपालको कामबाट त्यस दिनलाई छुट्टी लिएर गौशालाको पिङ्गलास्थान आइपुग्छन्। उनकी फुपु माइती नेपालकी संस्थापक अनुराधा कोइरालाको घरसमेत भएकाले पिङ्गलास्थानमा उनको बारम्बार आउजाउ हुन्थ्यो। कोइरालाका छोरा मनिषसंग भेट्न आइरहन्थे उनी। साथीहरुसंग साँझ र रातको जमघटका लागि पनि प्रायः उनी पिङ्गलास्थान पुग्थे। त्यो उनको अड्डै थियो।

त्यसदिन साँझ पनि आदित्य पिङ्गलास्थान आए। आदित्य नआइपुग्दै उनका पाँचसात जना साथी पिङ्गलास्थान चोकमा भेला भइसकेका थिए। गुरुङ आएपछि एकछिन उनीहरुको गफगाफ चल्यो। गफ सकिएपछि अरु साथी आ–आफ्नो बाटो लागे। गुरुङले संगै रहेका गणेश ढुंगेल र अर्जुन थापालाई त्यसदिन आफूसंगै बस्न भने।

‘आज संगै बसौं, तिमीहरुलाई होटल अमादब्लममा बसाउँछु आज,’ आदित्यले त्यस दिन आफूसंग गरेको कुराकानी सम्झिँदै अर्जुन थापा भन्छन्, ‘आदित्य दाइले भनेपछि म र गणेश दाइ उहाँसंगै बस्यौं अरु साथीहरु आ–आफ्नो घर गए।’

होटलमा बस्ने निधो भएपछि आदित्यले पुनः ठमेल गएर ‘लाइट ब्याण्ड म्युजिक’ सुन्ने इच्छा गरे। त्यसपछि तीनैजना पिङ्गलास्थानको पशुपति भिजनस्थित होटल अमादब्लममा भोलिपल्ट बिहानको ब्रेकफास्ट समेतका लागि भनेर कोठा बुकिङ बापत ४ हजार छाडी ठमेलतर्फ लागे।

उनीहरुले ठमेलको ‘सिसा टेरेस बार एण्ड रेस्टुरेन्ट’ मा ४५ मिनेट बिताए। उक्त रेस्टुरेन्टमा आदित्य र अर्जुनले रम पिए, गणेशले भोड्का। ठमेलमा नै प्रत्येकले तीन पेग पिइसकेका थिए। त्यसपछि उनीहरु ट्याक्सी चढेर होटल अमादब्लम फर्किए। होटल आइपुग्दा रातीको करिब ११ः३० बजिसकेको थियो।

होटलमा फर्किएपछि गणेश सुतिहाले। गुरुङले पुनः मदिरा सेवन गर्ने इच्छा गरे।

‘बाबु तल कल गर त, एक क्वार्टर रम थपेर सुत्नुपर्छ,’ गुरुङले अर्जुन थापालाई अह्राए।

थापाले रिसेप्सनमा फोन गरे। उताबाट बार बन्द भइसकेको जवाफ आयो। आदित्यले अर्जुनसंग फोन मागेर कुरा गर्न खोजे। आदित्यले अनुरोध गरेपछि होटल बागमतीबाट मगाइदिने जवाफ आयो रिसेप्सनबाट। त्यतिबेलासम्म कुराकानी हार्दिक रुपले चलिरहेको थियो। रिसेप्सनमा सम्पर्क भएको पन्ध्रबीस मिनेटपछि उनीहरु बसेको ढोका कसैले ‘नक’ गर्‍यो। खोलेर हेर्दा होटलको सेक्युरिटी गार्ड थिए। सरासर उनीहरु सामु आएर सेक्युरिटी गार्डले होटल बागमतीको मेनु देखाए।

‘मेनुमा के के छ?’ त्यसदिन आदित्यले सेक्युरिटी गार्डसंग गरेको कुरा सम्झिँदै अर्जुन भन्छन्, ‘उसलाई मेनुमा के छ भन्ने थाहा रहेनछ, त्यहीभएर त्यहीँ छ हेर्नु न भनिरह्यो।’

‘तिमीलाई थाहा नभए मेनेजरलाई पठाइदेउ, नत्र कल गर्न लगाइदेउ,’ आदित्यले यसो भनेपछि सेक्युरिटी गार्ड फर्केर गए। केहीबेरपछि रिसेप्सनबाट फोन आयो, कुराकानी भयो, उताबाट तलै आउनु भनेपछि गुरुङ र थापा तल ओर्लिए।

उनीहरु दुईजना रिसेप्सनमै ओर्लिएपछि भने कुराकानी हार्दिक हुन सकेन। आदित्यले रिसेप्सनिस्टलाई सोधे, ‘चौबीसै घण्टा सेवा दिने भनेर अर्को होटलबाट रम मगाउने? तपाईंहरुले होटल बागमतीको मेनु दिनुभएको छ, मैले तपाईंहरुलाई हो पैसा तिरेको किन होटल बागमतीको मेनु हेर्नु?’

आदित्यले रिसेप्सनिस्टलाई सोधे। रिसेप्सनिस्ट डोनी शेर्पासंग उनले कुरा गरिरहँदा शेर्पा भने मोबाइल चलाएर बस्न थाले। एक क्वार्टर रमका लागि उनीहरुबीच विवाद बढ्यो।

‘उनीहरुले जहाँबाट भएपनि एक क्वार्टर रम ल्याइदिएको भए भइहाल्थ्यो, रम अर्को होटलबाट ल्याउनुपर्ने भन्दै बागमतीको मेनु देखाएपछि विवाद बढेको हो,’ थापा भन्छन्।

चर्काचर्की पर्न थालेपछि आदित्यले अर्जुनसँग होटलबाट निस्कौं भने। आदित्यले भनेपछि कोठामा सुतिरहेका गणेश ढुंगेललाई बोलाउन अर्जुन माथि उक्लिए। होटलका रिसेप्सनिस्ट डोनी शेर्पासंग गुरुङको चर्काचर्की परिरहेको थियो। कोठामा पुगेपछि उनले चाबी तलै छुटेको थाहा पाए र पुनः रिसेप्सनमै फर्किए। उनी रिसेप्सनमा झर्दा गुरुङ र होटलका रिसेप्सनिस्ट डोनी शेर्पाबीच हात हालाहाल भइसकेको थियो।

‘म तल झर्दा दाइलाई रिसेप्सनमा बस्ने डोनी शेर्पाले टाउको पछाडि हानेको देखें, ३ सटसम्म हानेको देखें,’ उनले भने।

थापा आफूले शेर्पाको हातमा ‘नक’ देखेको बताउँछन्, ‘दाइले हातले हानिरहनुभएको थियो, डोनीले हातमा नक लगाएर हानिरहेको थियो।’

उनी होटलका सेक्युरिटी गार्डले समेत एकछिनपछि गुरुङमाथि आक्रमण गरेको बताउँछन्।

एकैछिनमा गुरुङ रगतपच्छे भइसकेका थिए। सबै दृश्य देखेर आत्तिएका अर्जुन थापा प्रहरीलाई खबर गर्न भनेर बाहिर निस्किए। होटलदेखि केही मिनेटको दुरीमा रहेको गुरुङकी फुपुको छोरा मनिष कोइरालालाई बोलाउन भनेर उनी त्यतातर्फ लागे। मनिषको फोन ‘अफ’ भएकाले उनी मनिषलाई बोलाउन भनेर दौडिएका थिए। मध्यराती बोलाएको कसैले नसुनेपछि उनी फर्किएर होटलमै आइपुगे। उनी आइपुग्दासम्म होटलमा प्रहरी आइसकेका थिए। शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका गुरुङलाई प्रहरीले सिनामङ्गलको केएमसी हस्पिटलतर्फ दौडायो। तर हस्पिटल नपुग्दै उनको प्राणपखेरु उडिसकेको थियो।

गुरुङको हत्या आरोपमा प्रहरीले होटलका ‘रिसेप्सनिस्ट’ डोनी शेर्पा, सेक्युरिटी गार्ड सरोज खड्का, शिवराज ढकाल र होटलका ड्राइभर भुपेन्द्र खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

आदित्य समाजसेवी तथा माइती नेपालकी संस्थापक अनुराधा कोइरालाको आफ्नै भदा थिए। अनुराधाका एक दाइका उनी एकमात्र छोरा थिए। आदित्यका बुबा बितिसकेका छन्।

भदाको मृत्युपछि अनुराधा शोकग्रस्त अवस्थामा छिन्। ‘भदाको मृत्युले ममी एकदमै शोकमा हुनुहुन्छ,’ कोइरालाका छोरा मनिषले भने। आदित्यकी आमा भारतको सिलिगुढीमा बस्दै आएकी छिन्।

पोस्टमार्टम भइसकेपछि आदित्यको पार्थिव शरीरलाई सिलिगुडी पुर्‍याएर दाहसंस्कार गरिसकिएको छ।

घटनाबाट हामी संवेदनशील भएका छौँः होटल एसोसियसन नेपाल

पीडित परिवारले भने होटलले गुरुङको मृत्युको जिम्मेवारी लिन आलटाल गरिरहेको आरोप लगाएको छ। ‘होटल सञ्चालकले दोषीलाई छुटाउनका लागि पहल गरेको सूचना हामीसम्म आइपुगेको छ, उहाँहरु पीडित परिवारलाई न्याय दिने भन्दा पनि होटल सञ्चालन गर्नेतर्फ ध्यान दिइरहनुभएको छ,’ अनुराधाका छोरा मनिष कोइरालाले भने, ‘स्वतन्त्र रुपले छानविन भएर न्याय पाउनुपर्छ भन्ने हाम्रो माग हो।’

घटनापछि होटल बन्द अवस्थामा रहेको छ।

‘के हाम्रा होटलहरु असुरक्षित बन्दै गएका हुन्?’ भन्ने नेपालखबरको प्रश्नमा होटल एसोसियसनमा महासचिव विनय शाह अपवादका रुपमा देखापरेका घटनालाई प्रतिनिधिमुलक घटना मान्न नहुने बताउँछन्।

‘यो घटनाले हामीलाई अवश्य पनि संवेदनशील बनाएको छ, हामीले गम्भीरताका साथ घटनालाई हेरिरहेका छौं’, उनले भने, ‘तर नेपालमा पहिलोपटक यस्तो घटना भएको छ, पाहुना हाम्रा लागि भगवान हुन् कसैको पनि मृत्यु हुनु दुःखद छ तर यसअघि कहिल्यै यस्ता घटना मैले नसुनेकाले यहि कारण नै होटल असुरक्षित भए भनिहाल्न मिल्दैन।’

 

प्रकाशित मिति १७ पुष २०७४, सोमबार १८:३५
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस