‘सगरमाथा चढ्ने रेडिमेड बाटा छन्, सजिलै चढिन्छ’ (भिडियो)

आठ वर्षअघि ५ हजार ५ सय २० मिटर अग्लो हिमाल यालापिकको चुचुरोमा पुगेकी २० वर्षीय दावा याङजुङ शेर्पाको मुखबाट निस्किएको थियो– वाह! मैले संसार जितें!’

हिमालै हिमालले घेरिएको दोलखाको रोलबालिङमा जन्मिएकी दावाको वाल्यकाल हिउँसँगै खेलेर बित्योे। हिउँसँग खेल्दाखेल्दै हिमालको उचाई नाप्ने शोख बनाएकी दावाका लागि सेप्टेम्बर २००९ को यालापिक आरोहण सायद यस्तो अनुभव पहिलो भएकाले विशेष थियो।

रसुवाको यालापिक आरोहणको सफलतासँगै दावाले जीवनको लक्ष पनि निर्धारण गर्न थालिन। पर्वतारोहण पथप्रदर्शकको उनको करियर त्यही हिमालबाट प्रारम्भ हुँदै थियो।

‘यालापिक आरोहणसँगै मैले पर्वतारोहण पथप्रदर्शक पेशा शुरु गरें’, काठमाडौंको बौद्ध स्तुपा परिसरमा रहेको हिमालयन जाभा क्याफेमा तातो कफीको चुस्कीसँगै दावा फ्ल्यासब्याकमा डुब्दै गइन, र भनिन्, ‘त्यतिबेला संसारै जितेजस्तो लागेपनि अहिले थाहा हुँदैछ, गर्न त धेरै बाँकी नै रहेछ।’

तर संसार नै जितेजस्तो लागेको त्यो सफलताको उत्प्रेरणाले नै आज उनलाई विश्वकै साहसिक ठानिने पर्वतारोहण पथप्रदर्शक पेशाको ‘आइकोनिक लेडी’ बनाइदिएको छ।

वर्षका ९ महिना विश्वका अग्ला अग्ला हिमाल चुचुरा चहार्ने र ३ महिना शहरमा रमाउने दावा यसपालि काठमाडौं छिर्नासाथ कफी गफमा भेट्न राजी भइन। अघिल्लो सप्ताहन्त दावाले आफ्नो दश वर्षे हिमाल यात्राको वर्णन यति रोमाञ्चक पाराले गरिन कि मलाई एकटक उनलाई सुनिरहन मन लाग्यो।

काठमाडौंमा १३ पुषमा भएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको १२औं राष्ट्रिय गाइड दिवसको अवसरमा ७ जना नेपालीलाई अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको प्रमाणपत्र प्रदान गरियो, जसमा पर्ने २७ वर्षीय दावा एक मात्र महिला हुन्।

दावाले अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको प्रमाणपत्र पाएकी मात्रै होइनन्, यससँगै उनी दक्षिण एशियाको पहिलो र एशियाको दोस्रो पथप्रदर्शक महिला बनेकी छिन्। यो उपाधीसँगै उनले नेपाल, नेपाली महिला र हिमाल आरोहणमा विश्वभर कहलिएका शेर्पा समुदायको नाम झन् चम्काइन।

यसअघि दावाको खातामा सन् २०१४ मा निकै जोखिमपूर्ण मानिने पाकिस्तानको केटु हिमाल कम उमेर (२४ वर्ष) मा आरोहण गरेको किर्तिमान थियो।

समगरमाथा चढ्ने रेडिमेड बाटा छन्
पथप्रदर्शक पेशा प्रारम्भ गर्नासाथ सन् २०१० मा दावालाई आयरल्याण्ड पीकमा आरोहण टोली पुर्याउने अभिभारा आयो। त्यो काम फत्ते गर्दा उनलाई के थाहा भयो भने एक्लै हिमाल उक्लनुभन्दा पथप्रदर्शक भएर अरुलाई हिमाल चढाउनु धेरै अप्ठेरो काम रहेछ।

६ हजार पथप्रदर्शक आवद्ध रहेको अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघमा थुप्रै महिला काम गरिरहेका भेटेपछि यसअघि ‘यो पेशा पुरुषले मात्र अपनाउँछन्’ भन्ने भनाइ गलत रहेछ भन्ने उनले ठहर गरिन।

तर यतिलेपनि उनको आत्मविश्वास धेरै बढेको थिएन। सन् २०१२ को कुरा हो, नेशनल जियोग्राफिक टिमलाई सगरमाथा चुचुरोमा पुग्न एक जना स्थानीय महिला पथप्रदर्शकको आवश्यकता पर्यो। छनौटका लागि टिमका अगाडि कुनै विकल्प थिएन, दावा निर्विकल्प उम्मेदवार थिइन। उनकै नेतृत्वमा जियोग्राफिक टिमले सफलतापूर्वक आफ्नो काम सम्पन्न गरेर फर्कियो ।

‘त्यसअघि म कहिल्यै सगरमाथा चढेको थिइनँ, तर अरु नयाँ हिमाल भन्दा सगरमाथा चढ्न सजिलो लाग्यो’, निष्कपट मुस्कान र आत्मविश्वाससहित दावाले भनिन्, ‘नयाँ रुटमा आफैं बाटो पहिल्याउनु पर्छ, तर सगरमाथा चढ्न अरुले बनाइदिएका रेडिमेड बाटा रहेछन्, सजिलै चढियो।’

विश्वको सर्वोच्च शिखर आरोहण गरेपछि दावाको आत्मविश्वास झन् बढ्यो। त्यसपछि हो उनले यही पेशालाई ‘फुलटाइम’ बनाउने निधो गरेकी।

एक करोडको तालिम
पथप्रदर्शक बन्ने निधो त दावाले गरिन तर यो पेशाका लागि चाहिने दक्षतावृद्धि तालिम निकै कठिन र असाध्यै महँगो पथ्र्यो। राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको तालिममा सहभागी हुन ६ हजार मिटरका ६ वटा र ७ र ८ हजार मिटर अग्ला एक एक वटा हिमाल आरोहण गर्नुपर्ने नियम छ। सँगसँगै अन्तर्राष्ट्रिय मापदण्ड भएको ६ बी प्लप लेबलको रक क्लाइम्बिङ पनि गर्न सक्नुपर्छ। दावाले यी सबै परिक्षा पास गरिन।

बाँकी रह्यो आर्थिक जोहो। करिब १ करोड लाग्ने यस तालिमका लागि नेपाल पर्वतारोहण संघले ७५ प्रतिशत रकम ब्यहोरिदिँदा पनि ९ महिनाको कोर्ष पूरा गर्न उनलाई १० लाख थप जोहो गर्नुपथ्र्यो। दावाले यो काम पनि फत्ते गरिन। र, सन् २०१३ मा सफलतापूर्वक यो तालिम पूरा गरेपछि उनले २०१४ मा लाइसेन्स प्राप्त गरिन।

लाइसेन्स पाएपछि उनले दुई वर्ष दक्षिण अमेरिकाको अल्पाइन असाइन्स इन्टरनेशनलमा पथप्रदर्शकको काम गरिन। ती दुई वर्ष दावाले दक्षिण अमेरिकाको माउन्ट रेनियर, बेकार, टिटन्स हिमालमा धेरैलाई सफलतापूर्वक आरोहण गराइन। ती हिमालहरु ४ हजार मिटरभन्दा अग्ला थिए।

अमेरिकाबाट दावा सिधै चीन आइन र छवयु, आइलेनपिक र लुगोचेजस्ता हिमालमा आफ्नो क्षमता देखाइन।

‘एकचोटी छवयु चढ्ने क्रममा आधा बाटो पुगेका थियौं, एक्कासी मौसम खराब भएको जानकारी आयो, यो कुरा आरोहीहरुलाई सुनाइदिएँ’, आफ्नो काममा भैपरी आउने अप्ठ्यारा सुनाउँदै दावा भन्छिन्, ‘अगाडि बढ्न नसक्ने र फर्कनुपर्ने बताएपछि मेरा पर्वतारोही निकै रिसाए।’

सुरु सुरुमा यस्ता कुराले दावाको चित्त दुखाउँथ्यो तर अहिले उनलाई सामान्य लाग्न थालेको छ।

राष्ट्रियस्तरको लाइसेन्स लिएको दुई वर्षपछि दावाले यस वर्ष अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रर्दशकको लाइसेन्स प्राप्त गरेकी हुन्। यो लाइसेन्सका लागि योग्य हुन चाहिने तालिम लिन पनि उनलाई नेपाल पर्वतारोहण संघले ७५ प्रतिशत रकम सहयोग गरिदिएको थियो। दावाले १५ लाख लगानी गर्नु परेको थियो।

‘यो लाइसेन्स लिएपछि जिम्मेवारी बढेको महशुस गरेको छु’, अहिलेको अवस्थासम्म आइपुग्न निरन्तर १० वर्ष हिमालमा नङ्ग्रा खियाएकी दावा अबको योजना सुनाउँदै भन्छिन्, ‘अहिलेसम्म त वर्षको ९ महिना हिमालमै बित्छन्, अब नयाँ पुस्तालाई यो पेशामा आकर्षित गर्न पनि केही काम गर्ने योजनामा छु।’

प्रकाशित मिति २१ पुष २०७४, शुक्रबार १८:५८
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस