कहाँबाट सुरु हुन्छ मातृभूमि ?

कहाँबाट सुरु हुन्छ मातृभूमि ?

हुन्छ कि वर्णमालाको चित्रबाट

या असल र विश्वासिला चोकका पुराना मित्रबाट ?

कि सुरु हुन्छ मातृभूमि,

आमाले गाएको गानबाट या जस्तै कठिनाइमा पनि ,नझुक्ने स्वाभिमानबाट ?

 

कहाँ बाट सुरु हुन्छ मातृभूमि ?

कि चौतारीको दौतरी भेटबाट या हुन्छ बतासमा झुल्दै हुर्कने

ति बर-पिपलको बोटबाट ?

कि सुरु हुन्छ मातृभूमि

मैनाको वासन्ती स्वरबाट या सुदुरसम्म तन्किएको

गाउँको बाटो र घरबाट ?

कहाँ बाट सुरु हुन्छ मातृभूमि ?

हुन्छ कि क्षितिजको ज्योतिबाट या हुन्छ कन्तुरमा भेटिएको

बुवाको सिपाही टोपीबाट?

कि सुरु हुन्छ मातृभूमि,

छुकछुक रेलको धुनबाट,या पहिलो बाचा मायाको

साचेको तिम्रो मनबाट ?

साच्चै कहाँबाट सुरु हुन्छ मातृभूमि ?

 

रूसी कविता 
भावानुवाद: जुगल भुर्तेल

प्रकाशित मिति ४ माघ २०७४, बिहीबार २१:४७
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस