एनसेलसँग जोडिएका दश हाइप्रोफाइल, जो एनसेलकै कारण ‘पतन भए’

२०६१ कात्तिक। भारतको ठूलो औद्योगिक घरानामध्ये मोदी कर्पका अध्यक्ष बिके मोदी काठमाडौंमा थिए। भारतमा पहिलोपटक मोबाइल सेवा सञ्चालन गरेका मोदी नेपालमा पनि त्यस्तै सम्भावनालाई साकार दिने प्रयासमा थिए।

त्यसका लागि मोदीले मोदीकर्प र स्पाइस इन्डियाको ६० प्रतिशत स्वामित्व र नेपालको खेतान समूहको ४० प्रतिशत स्वामित्वको स्पाइस नेपाल कम्पनी खडा गरे। जुन कम्पनी पछि मेरो मोवाइल हुँदै अहिले देशकै सवैभन्दा ठूलो निजी कम्पनी एनसेलका रुपमा सञ्चालनमा छ।

एनसेल सफल भए पनि एनसेलमार्फत् नेपालको हितमा काम नगर्ने धेरैको भने उठिबास लागेको छ। एनसेल स्थापनापछिका केही शक्तिशाली व्यक्ति जसलाई एनसेल फापेन।

१) राजबहादुरलाई मिल्यो दुस्मनी

देशमा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकाल चलिरहेको थियो। राजाका ज्वाईं राजबहादुर शाहले काठमाडौंमा रहेका मोदीलाई राजाको समर प्यालेस नागार्जुन दरबारमा निम्ता गरे। ज्वाईं सिंहले मोदीसँग स्पाइस नेपालको स्वामित्व मागे।

घट्नाक्रमसँग जानकार एक अधिकारी भन्छन्, मोदीले त्यसलाई आलटाल गर्ने प्रयास गरे। अवस्था मोदीमाथि बन्दुकको ट्रिगर तान्नेसम्म पुग्यो। अवस्था ज्यादै नाजुक भएपछि त्यही दिन भारतीय दूतावासले मोदीलाई हेलिकोप्टरमा रेस्क्यु गरेर विमानस्थल पुर्‍यायो। त्यसको केही दिनपछि ३ मंसिर २०६१ मा स्पाइस नेपालको ९५ प्रतिशत शेयर स्वामित्व मोदी र खेतानबाट राजबहादुर सिंहको कम्पनी राज ग्रुप प्रालिमा हस्तान्तरण भयो। यही कारण राजाको प्रत्यक्ष शासनकालमा हुने विरोध सभाहरुमा तत्कालीन मेरो मोबाइललाई ‘ज्वाइँको मोबाइल’ भन्दै व्यङ्ग्य गरिन्थ्यो।

सिंहले त्यो शेयरमध्ये ३८ प्रतिशत आफूसँग राखेर त्यसको दुई महिनापछि साइप्रसको कम्पनी डाल्टो ट्रेडलाई ५७ प्रतिशत हस्तान्तरण गरे। डाल्ट्रो ट्रेडले यो सेयर रेनल्ड होल्डिङलाई बिक्री गर्‍यो। त्यसपछि पनि सिंहले आफूसँग भएको उक्त कम्पनीको सबै स्वामित्व विदेशी तथा स्वदेशी कम्पनीलाई बिक्री गरे।

तर शक्तिले आर्जन गरेको स्पाइस नेपाल (अहिलेको एनसेल) को सेयरले राजबहादुरलाई भने कहिल्यै लाभ भएन। बरु त्यसले उनलाई सधैं पीडा दिइरह्यो। उनले एनसेलको शेयर बेचेपछि प्राप्त रकम साइप्रस हुँदै सिंगापुरमा पुर्‍याए। त्यो रकम त्यहाँ उनले आफ्नो नाममा ‘पार्क’ गर्न सकेनन्।

त्यो मात्रै होइन, उनले कम्बोडिया र अफ्रिकी मुलुकमा गरेको लगानीबाट प्राप्त प्रतिफल पनि उनले आफ्नो नाममा राख्न सकेनन्। जसका नाममा रकम राखिएको थियो, उसैले राजबहादुरसँग दुस्मनी सुरु गर्‍यो। जुन दुस्मनी आजसम्म पनि चलिरहेको छ। र, उनी उसैसँग लड्दा-लड्दा हैरान छन्।

राजबहादुरले एनसेलको शेयर मात्रै होइन, यही कारण स्मार्ट टेलिकमदेखि अफ्रिकी मुलुकका केही टेलिकम कम्पनीसमेत गुमाइसकेका छन्। त्यसबाहेक नेपालमा क्यासिनोदेखि पेट्रोलियम पदार्थको कारोबारसम्म उत्रने प्रयास गरिरहेका छन्। तर त्यसमा सफलता पाउन सकेका छैनन्। हुँदाहुँदा राजबहादुरले पत्नी प्रेरणाको दाइजोमा पाएको ताहाचलको १५ रोपनी जग्गासहितको बासस्थानसमेत पोहोर भएको सर्वोच्चको अर्को आदेशपछि गुमाउनु परेको छ।

यसअघि सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्र शमशेर जवराले सरकारका नाममा परमादेश दिएर यो जग्गा सरकारको नहुने भनेको थियो।

२) अजय बन्न सकेनन् सुमार्गी

राजबहादुरले स्पाइस नेपाल किनेपछि त्यसको पहिलो प्रमुख कार्यकारी अधिकृत अजेयराज सुमार्गीलाई बनाए। सुमार्गीले स्पाइस नेपालमा शेयरको केही हिस्सा समेत पाएका थिए र यहीँबाट सुमार्गीको उदय भएको थियो।

सुमार्गीको उदय जुन रफ्तारमा भएको थियो, अहिले उनै सुमार्गी त्योभन्दा दोब्बर रफ्तारले तल झरिरहेका छन् र त्यसको जरो कहिं न कहिं गएर यही एनसेलसँग जोडिएको छ। सोमबार कान्तिपुरविरूद्ध आयोजित पत्रकार सम्मेलनमा सुमार्गीले राज ग्रुपमा अफ्नो २५ प्रतिशत सेयर हिस्सा भएको स्वीकार गरेका थिए। राज ग्रुपसँग कुनै बेला स्पाइस नेपालको ९५ प्रतिशतसम्म शेयर थियो। स्पाइस नेपालको सिइओ बनेपछि सुमार्गीको चिनजान विदेशी लगानीकर्ता र कर्पोरेटहरुसँग भयो।

यिनै कर्पोरेटमध्ये एक हुन मोहम्मद आमेर्सी। बेलायती नागरिक आमेर्सी सुरुमा टेलियाको कजाकस्थानी कम्पनीका लागि बोर्डमा नियुक्त भएका थिए। आमेर्सी यहींबाट कजाकास्थानको भाइजर समूह नजिक पुगे। भाइजर त्यतिवेला स्पाइस नेपालको एक लगानीकर्ता थियो।

आमेर्सीकै कनेक्शनपछि टेलियाले सन् २००८ मा कम्वोडियाको स्मार्ट टेलिकम र नेपालको स्पाइस नेपाल किन्यो। पछि सन् २०१२ मा आमेर्सीले टेलियालाई सुमार्गीको अर्को टेलिकम कम्पनी नेपाल स्याटेलाइटसमेत खरिद गराइदिए। सुरुमा भाइजरलाई स्पाइस नेपाल र पछि टेलियालाई नेपाल स्याटेलाइटको सेयर बिक्री गरेपछि सुमार्गीले ११ अर्ब रुपैयाँभन्दा बढीको लाभ गरे।

उनले गरेको त्यही लाभलाई विदेशी ऋणका रुपमा नेपाल ल्याउँदा अहिले सुमार्गी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरीको सिआईबीदेखि नेपाल राष्ट्र बैंकसम्मको छानविनमा छन्। उनको तीन अर्ब रुपैयाँ रकम नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंकमा फ्रिज गरेर राखेको छ।

यही रकमका विषयमा कान्तिपुर दैनिकले समाचार लेख्दा सुमार्गी भर्सेस कान्तिपुर दैनिकको अवस्था सिर्जना भएको छ। सुमार्गीको नेपाल स्याटेलाइटका विषयमा महालेखा परीक्षकले समेत डेढ अर्ब रुपैयाँको दायित्व सिर्जना गरेर राखेको छ।

प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा २२ लाख रुपैयाँमा दिलाएको नेपाल स्याटेलाइटको लाइसेन्स सुमार्गीले अर्बौ रुपैयाँमा टेलियालाई बिक्री गरेका थिए। यसवापत भएको लाभ ‘शेयर’ नगरेपछि प्रचण्डदेखि माओवादीका अधिकांश ठूला नेतासँग उनको सम्वन्ध विग्रिएको छ। राजबहादुरदेखि माओवादी अध्यक्ष प्रचण्ड जस्ता शक्ति केन्द्रसँग सानिध्यमा पुर्‍याउने उपेन्द्र महतोसँग समेत उनको सम्वन्ध बिग्रिएको छ।

सुमार्गीका विषयमा जानकार एकजना उद्यमीले भने, अहिले सुमार्गी खुकुरीको धारमा हिंड्नु परिरहेको छ, प्रचण्डले सिग्नल दिए उनको बास जेलमा हुन धेरै समय लाग्दैन। स्रोत भन्छ, सम्भावित त्यही अवस्थालाई ध्यानमा राख्दै सुमार्गीले बेलायती नागरिकताका लागि प्रक्रिया सुरु गरेका छन्।

३) लार्स नैवर्ग बने ‘लाश’

सन् २००८ मा मोहम्मद आमेर्सिया टेलियाको कजाख्स्तानी टेलिकम कम्पनीको बोर्डमा गएपछि उनले लार्स नैवर्गलाई स्पाइस नेपालको शेयर खरिदका लागि उक्साए। लार्स त्यतिबेला टेलियाको प्रेसिडेन्ट तथा प्रवन्ध निर्देशक थिए। उनले सन् २००८ मा प्रोतोफिनो कम्पनीसँग नेपालको स्पाइस नेपाल होल्ड गर्ने कम्पनी रेनोल्ड होल्डिङको शेयर टेलियाका लागि खरिद गर्ने डिल गरे।

स्पाइस नेपालसँगै लार्सले कम्बोडियाको टेलिकम कम्पनी एप्लिफोन खरिदको सम्झौता समेत गरे। एप्लिफोनमा समेत राजबहादुर, उपेन्द्र महतो शेयरहोल्डर थिए। टेलियाले पछि कम्बोडियाको शेयर पुरानै शेयरहोल्डरलाई छाडेर नेपालको शेयर हिस्सा बढाउने निर्णय गर्‍यो।

सन् २००८ देखि २०१२ सम्म लार्सले नेपालसँगै कजाकस्तान, जर्जिया, अजरवैजान, उज्वेकिस्तान जस्ता युरो-एशियन देशमा लगानी बढाए। त्यस्ता देशमा भएका कतिपय भूक्तानी गैरकानुनी भएको समाचार स्वीडेनमा छाउन थाल्यो। त्यस्तैमध्ये एउटा समाचार स्वीडेनको भेक्कन अफेयर्समा राजाका ज्वाईंसँग नेपालमा कसरी टेलियाले शेयर खरिद गर्यो भनेर छापियो।

यी र यस्तै समाचारले टेलियामाथि व्यवस्थापन परिवर्तनको दबाब पर्‍यो। सन् २०१३ को सुरुमा टेलियाको अध्यक्षका रुपमा मारी इर्लिङ आइन्। विवादका बीच लार्स नैवर्गले प्रेसिडेन्टसँगै प्रवन्ध निर्देशकको जागिरबाट हात धुनुपर्‍यो। लार्सको सट्टामा जुन २०१३ मा जोन डेनिल्ड सिइओका रुपमा टेलियामा आए। लार्सले गरेका डिलका विषयमा छानविन चलिरहेको थियो सन् २०१५ मा मुडिज वाटर्सले टेलियासोनेराको बोर्डलाई एउटा खुला पत्र लेख्यो।

यो खुलापत्रमा टेलियाले युरो-एशिया र नेपालमा गरेर दुर्ई अर्ब १० करोड डलर ‘करप्ट पेमेन्ट’ गरेको आरोप लगायो। त्यसैगरी अजरबैजानमा समस्या पारिरहेको साझेदारलाई थप ९३ करोड डलर भुक्तानी गरेको आरोप पनि त्यो पत्रमा थियो।

मुडिजको पत्रपछि टेलियाले नर्टन रोज एण्ड फुलब्राइट लगायतका संस्थासँग लार्सको पालामा भएका कारोबार अडिट गर्न लगायो। यही बेला स्वीडेनको भ्रष्टाचार निरोधक संस्थाले पनि लार्समाथि छानविन सुरु गर्‍यो। छानविनमा दोषी देखिएपछि यो संस्थाले लार्सविरुद्ध मुद्दा चलाएको छ।

कुनै बेला टेलियामार्फत विश्वको टेलिकम उद्योगलाई हल्लाएका लार्स अहिले मुद्दाको सामाना गर्नु परिरहेको छ। स्वीडेन जस्तो देशमा भ्रष्टाचार जस्तो मुद्दा लाग्नु त्यही हिनभावनामा लार्स बाँचिरहनु परेको छ।


४) तेरो किभिसारी पनि फसे

लार्सले गरेको प्रस्तावलाई टर्कीमा बसेर टेलियाको युरो-एशिया हेर्ने तेरो किभिसारीले एक्ज्युट गर्थे। जसरी लार्स यो मुद्दामा फसे, त्यसैगरी तेरो किभिसारीमाथि पनि अहिले स्वीडेनमा भ्रष्टाचार मुद्दा चलिरहेको छ।

लार्स र तेरोले गरेको गल्तीका कारण टेलियाले युरो-एशियाली मुलुक छाडेर भाग्नु मात्रै परेन्, अमेरिकासम्म अर्बौ रुपैयाँ जरिवाना तिर्नुपर्‍यो।


५) निरज पनि अफ्ठ्यारोमा

काठमाडौंमा एक, दुई, तीन गर्दै आलिसान एक दर्जन बंगलाहरु गन्ने हो भने निरजगोविन्द श्रेष्ठको भैंसेपाटीस्थित बंगला पनि तीनैमध्ये एकमा पर्छ। बेलारुसको सबैभन्दा ठूलो कम्पनीमध्ये एक एम्काडोरमा निरजगोविन्द सञ्चालक छन्।

वर्षमा एक/दुई पटक नेपाल आउने उनै निरजगोविन्द अहिले काठमाडौमा खुलेर हिंड्न सक्ने अवस्थामा छैनन्। कारण एनसेलको शेयर साझेदारी। सिनर्जी नेपालले एनसेलको २० प्रतिशत शेयर उपेन्द्र महतोलाई बिक्री गरेपछि त्यही सेयर उनै निरजगोविन्द श्रेष्ठले २०६८ चैतमा महतोसँग खरिद गरेका थिए।

खरिद गरेलगत्तै यो शेयर उनले सन् २०१२ मा टेलियालाई बिक्री गरिसकेका थिए। तर नेपाली कानुन अनुसार टेलिकम कम्पनीमा २० प्रतिशत शेयर नेपालीसँग हुनु पर्ने भएपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा हुने कागजातमा भने एनसेलमा भएको उनको २० प्रतिशत शेयरको हक हस्तान्तरण भएको थिएन जसको इकोनोमिक इन्ट्रेष्ट टेलियासँग थियो। भएको कागजातका आधारमा निरज एनसेलको सञ्चालक समितिमा बस्दै आएका थिए।

टेलियाले आफूसँग भएको शेयर जब एक्जियटालाई बिक्री गर्‍यो, त्यतिबेला निरजगोविन्दसँग भएको शेयर पनि सतिशलाल आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठ एकल सञ्चालक भएको कम्पनी सुनिभेरा क्यापिटललाई बिक्री गर्‍यो। यो शेयर सुरुमा तीन अर्बमा बिक्री गर्न प्रस्ताव गरिएको कागजात तयार गरिएको थियो, तर ८० प्रतिशत शेयर एक खर्ब ४४ अर्बमा बिक्री हुँदा २० प्रतिशत शेयर कसरी तीन अर्बमा बिक्री हुन्छ भन्ने प्रश्न उठेपछि कर प्रयोजनका लागि त्यसको भ्यालु बढाएर ११ अर्ब पुर्‍याइयो।

अनि त्यसैका आधारमा निरजगोविन्दले दुई अर्ब ८० करोड लाभकर भूक्तानी गरे। तर कर कार्यालयले ३६ अर्बको शेयर कसरी ११ अर्ब मूल्यांकन भयो भन्दै प्रश्न मात्रै उठाएको छैन, उनीमाथि थप साढे छ अर्ब रुपैयाँ कर निर्धारणसमेत गरेको छ। यो विषयलाई लगेर निरजगोविन्द अहिले सर्वोच्च अदालत गएका छन्। तर त्यसबाट मुक्ति पाउने सम्भावना भने ज्यादै न्यून छ। सन् २०१२ मा बिक्री गरेको सेयर अहिले आएर लाभकर त्यो पनि व्याज र जरिवानासहित तिर्नुपर्ने दायित्व उनीमाथि छ।

त्यसैले काठमाडौंको आलिसान बंगलामा केही दिनका लागि शेयर गर्न आउने निरजगोविन्दको अहिले काठमाडौं आउन मात्रै रोकिएको छैन। ठुलै काम लिएर आउँदा पनि अपराधी जस्तै गरेर गुपचुप आउने अनि गुपचुप हिँड्नुपर्ने अवस्था आइलागेको छ।

एनसेलसँग जोडिएका शक्तिशाली व्यक्तिहरुको पतन शृङ्खलामा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीदेखि आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा र एनसेलका सिइओ एरिम टाइलनर लगायतलाई कसरी असर पर्‍यो विस्तृत जानकारी भोलि।

प्रकाशित मिति ८ माघ २०७४, सोमबार २०:२९
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस