युएइसंगको खेलपछि हेर्नुस नेपाल विश्वकप छनोटमा कुन टोलीसँग कुन समूहमा पर्छ?

आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गतको लिगचरणका पाँच खेल खेल्दै विश्वकप छनोट पुग्न सफल भइसक्दा नेपाली टोलीको मुख्य विशेषता रोमाञ्चक तथा सनसनीपूर्ण जित रह्यो।

क्यानडाविरुद्धको खेल पनि बुधबार सनसनीपूर्ण रह्यो। एकपटक हारको संघारमा पुगेको नेपाली टोलीलाई करण केसी र सन्दीप लामिछानेको अन्तिम जोडीले ५१ रनको साझेदारी गर्दै अन्तिम बलमा विजयी रन बटुलेका थिए।

प्रतियोगिताको उपाधिका लागि आज(बिहीबार) नेपाल र यूएई आमनेसामने हुनेछन्। खेलको नतिजा आएसँगै मार्चमा जिब्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा कुन टोली कुन समूहमा पर्नेछन् भन्नेपनि टुंग्यो लाग्नेछ।

१० टोलीको सहभागिता रहने विश्वकप छनोटमा डिभिजन दुईको बिजेता समूह ए मा पर्ने तथा उपविजेता समूह बि मा रहनेछ।

मार्च ४ तारिखदेखि २५ तारिखसम्म हुने प्रतियोगितामा यदि नेपाल डिभिजन दुईको विजेता बन्दै समूह ए मा रहेमा टेष्ट राष्ट्र वेष्टइण्डिजसँगै आयरल्याण्ड, नेदरल्याण्ड पपुवा न्युगिनीसँग खेल्नेछ। यदि उपविजेता भएमा समूह बी अन्तर्गतका आयोजक जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग खेल्नेछ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोली २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन्।

बुधबार क्यानडालाई पराजित गर्दै शीर्षमा स्थान बनाएको नेपालसँग आयोजक नामिबियालाई १९ रनले हराउँदै रनरेटका आधारमा दोस्रो भएको यूएईले फाइनलमा भेट पक्का गरेको हो।

जारी प्रतियोगिताको यसअघि तेस्रो खेलमा नेपाल र यूएई आमनेसामने भइसकेका छन्। उक्त खेलमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो। सोही लयलाई कायम राख्दै नेपाल उपाधि उचाल्ने दाउँमा छ भने युएई लिगमा बेहोरेको हारको बदला लिने योजनामा हुनेछ।

प्रकाशित मिति ३ फाल्गुन २०७४, बिहीबार १४:०७
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस