आज नेपाल भर्सेस स्कट्ल्याण्ड, हेर्नुस यस्तो छ विगतको नतिजा

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार स्कटल्यान्डसँग खेल्दैछ।

छनोटमा दमदार प्रदर्शन गरिरहेको स्कटल्यान्ड र नेपालबीच एकदिवसीय खेलमा पछिल्लो चार वर्षमा तीन पटक प्रतिस्पर्धा भएको छ। पछिल्ला तीन वटै खेलमा नेपालले पराजय भोगेको छ।

सन् २०१४ को विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। न्युजिल्यान्डको क्विन्सटाउनमा भएको खेलमा पहिले ब्याटिङ गरेको स्टकल्यान्डले ७ विकेटको क्षतिमा २ सय ४९ रन जोडेको थियो। २ सय ५० रनको लक्ष्य पछ्याएको नेपालले १ सय ५९ रन मात्र बनाउन सक्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३४ रन बटुलेका थिए।

सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र स्कटल्यान्डबीच पहिलो चरणमा दुई खेल भएका थिए। स्कटल्यान्डमा भएको दुवै खेलमा नेपाल पराजित भयो। पहिलो खेलमा स्कटल्यान्डले नेपालमाथि ३ रनको झिनो अन्तरको जित निकाल्यो। ३६ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २ सय ३५ रन जोडेको थियो। जवाफमा नेपालले ५ विकेटको क्षतिमा २ सय ३२ रन मात्र जोड्न सक्यो। खेलमा नेपालका ओपनर अनिल मण्डलले शतक र कप्तान पारस खड्काले ७० रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन।

दोस्रो खेलमा नेपाल ९ विकेटले पराजि भयो। पहिले ब्याटिङ गरेको नेपाल १ सय ६७ रनमा अलआउट भयो। खेलमा नेपालका लागि शरद भेषावकले सवैभन्दा बढी ३० रन जोडेका थिए। वर्षाले प्रभावित खेलमा स्कटल्यान्डका लागि १ सय ११ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य स्कटल्यान्डले १ विकेटको क्षतिमा पार गरेको थियो।

प्रकाशित मिति २४ फाल्गुन २०७४, बिहीबार १०:०३
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस