अर्थ मन्त्रीको एक बोलीले ४७ अर्बको घाटा, हेर्नुस के थियो त्यो बोली

काठमाडौँ — देशको अर्थव्यवस्थाको संकेत दिने नेपाली पुँजी बजार अर्थात् सेयर बजार फागुन २० गते ४२ अंकले तल झर्दा १६ लाख सेयर लगानीकर्ताहरूको एक दिनमै ४७ अर्ब पुँजी गुम्न पुग्यो । कुनै दिन १९ खर्ब नाघेको नेपाली सेयर बजार अहिले १५ खर्बमा झरेको छ ।

नवनियुक्त अर्थमन्त्रीले गतसाता बीबीसीमा अन्तर्वार्ता दिँदा सेयर बजार र घरजग्गा अनुत्पादक क्षेत्र भएकाले सरकारको प्राथमिकतामा नपर्ने भनी दिएको अभिव्यक्ति नै सेयर मूल्य घटाउने कारक तत्त्व रहेको विश्लेषकहरूको भनाइ छ । बैंकहरूको पुँजी बढाउन गरिने लगानी तथा जलविद्युत कम्पनीहरू निर्माण गर्न सेयरको माध्यमबाट गरिने लगानी कसरी अनुत्पादक हुनसक्छ, अर्थमन्त्रीज्यू ? त्यही सेयर पँुजीबाट जलविद्युत बन्ने, बिजुली बिक्रीबाट कमाइ हुने, जनताले रोजगारी पाउने, छड, सिमेन्ट उद्योग चल्ने काम कसरी अनुत्पादक हुनसक्छ ? तपाईको एक बोलीले आज जनताले अर्ब होइन, खर्ब गुमाइसके । यसमा तपाईले आत्मसमीक्षा गर्नुपर्छ ।
आफ्नो बोली फिर्ता लिँदै पुँजी बजार धराशायी हुनबाट बचाउनुपर्छ । दिनहुँ झर्दाझर्दै नेप्से सूचकांक १८८१ बाट १३०४ अंकमुनि आइपुगेको छ । यो भनेको लाखांै लगानीकर्ताको अर्बमा होइन, खर्बमा रकम गुमाएको अवस्था हो । यो अवधिमा सेयरमा खेल्ने १६ लाख खेलाडीको १ वर्षमा ५ खर्ब गुमाएको अवस्था हो । यदि यस्तै तालमा ओरालो लाग्ने क्रम नरोकिए साना लगानीकर्ता पुरै सडकमा मात्र आइपुग्दैनन्, कतिपयले आत्महत्या समेत गरेर आफ्नो इहलीला समाप्त पार्न बेर छैन । यसर्थ यो अवस्थाबाट बचाउन तत्कालै सरकार र सम्बद्ध निकायको सुधारात्मक सम्बोधन आउनुपर्‍यो, अन्यथा धेरै ढिलो हुनेछ ।
– गोपाल देवकोटा
गोकर्णेश्वर–८, जोरपाटी, काठमाडांै

प्रकाशित मिति २४ फाल्गुन २०७४, बिहीबार १६:१२
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस