यसरि जित्न सक्छ नेपालले अफगानलाई (लाइभ गेमको लागि यहा क्लिक गर्नुहोस)

विश्वकप छनोटमा शनिबार आमने सामने हुँदा नेपाल र अफगानिस्तान सामू सुपरसिक्समा प्रवेश पाउन जित्नैपर्ने दबाब हुनेछ। समूहका शीर्ष तीन टोलीले सुपरसिक्समा स्थान बनाउँदै विश्वकपको यात्रा तय गर्ने भएकाले दुबै टोली जितका लागि मैदान उत्रनेछन्।

पाँचवटा टोली सम्मेलित समूह चरणमा एकअर्कासँग खेलिसकेपछि शीर्ष तीन स्थानमा रहने टोलीले सुपरसिक्समा स्थान बनाउँनेछन्। सुपरसिक्समा अर्को समूहसँगका टोलीसँग खेलिसकेपछि शीर्ष दुई स्थानमा रहने टोलीले २०१९ को विश्वकपमा स्थान बनाउँनेछन्।

विश्वकप छनोटअघि उत्कृष्ट लयमा रहेको र विश्वकपमा छनोट हुने प्रबल दाबेदार टोलीका रुपमा हेरिएकाे अफगानिस्तानले विश्वकप छनोटमा भने लय गुमाएको छ। पहिलो खेलमा स्कटल्याण्डविरुद्ध ७ विकेट, दोस्रो खेलमा जिम्बावेविरुद्ध २ रन र हङकङविरुद्ध तेस्रो खेलमा बिहीबार ३० रनले पराजित भएसँगै अफगानिस्तानलाई अघिल्लो चरणमा पुग्न नेपालविरुद्ध जितले मात्रै पुग्दैन्। राम्रो रनरेटका साथ अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ।

विश्वकप छनोट अघि भने अफगानिस्तानले राम्रो लय देखाएको थियो। विश्वकप छनोटको पहिलो पहिलो वार्मअप खेलमा वेस्ट इन्डिजलाई डकवर्थ लुइस पद्धतिमा २७ रनले पराजित गरेको अफगानिस्तानले दोस्रो खेलमा नेदरल्याण्डविरुद्ध २ सय १६ रन बनाएको थियो तर नेदरल्यान्ड्सले १७.३ ओभरमा १ विकेट गुमाई ८६ रन बनाएको अवस्थामा खेल वर्षाले बिथोलेपछि नतिजा आएन्।

विश्वकप छनोटमा खेल्न जानुअघि अफगानिस्तानले जिम्बावेसँग ५ खेलको वान–डे अन्तर्राष्ट्रिय शृंखला ४–१ ले जितेको थियो। तर, कप्तान अस्गर स्टानिकजाई एपेन्डिक्सको अपरेशन गरेका कारण खेल्न नसक्ने भएपछि र विकेटकिपर ब्याट्सम्यान मोहम्मद सेहजादलाई आचारसंहिता उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाएपछि अफगानिस्तानले लय गुमाएको छ।

यता, अघिल्लो महिना नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुईको शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा स्थान बनाएको नेपालका लागि सुरुवाती लगातार दुई हारपछि सुपरसिक्समा स्थान बनाउँन अफगानिस्तानसँगै हङकङसँगको खेल जित्नैपर्ने दबाब छ। लय गुमाएको अफगानिस्तानसँग हावी हुने मौका नेपाललाई छ।

कप्तान पारस खड्काले पनि लय गुमाएको अफगानिस्तानसँग नेपाललाई राम्रो प्रदर्शन गर्ने मौका रहेको बताएका छन्। स्कटल्याण्डसँग बिहीवार पराजित भएपछि उनले आफूहरुले एकपटकमा एउटामात्रै खेलको बारेमा सोच्ने बताउँदै अफगानिस्तानले लय गुमाएकाले उनीहरुमाथि हावी हुने मौका रहेको बताए। ‘हाम्रो सुपर सिक्स सम्भावना पुग्ने सम्भावना खुला छ। हामीले बाँकी रहेको दुई खेल जित्यौँ भने हाम्रो सम्भावना कायम छ,’ पारसले भने, ‘हामीले एक पटकमा एक खेलको बारेमा मात्र सोच्नुपर्छ। अफगानिस्तानले प्रतियोगितामा लय बिगारेको छ। दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ र हामी हाम्रोतर्फबाट बेस्ट दिने प्रयास गर्नेछौँ।’

हेड टू हेड
नेपाल र अफगानिस्तान चिरपरिचित प्रतिद्धन्द्धि हुन्। सन् २०१५ को विश्वकपपछि अफगानिस्तानले एकदिवसीय टोलीको मान्यता पाएपछि नेपालको उसँगको भेट रोकिएको थियो। सन् २०१५ मा पहिलोपल्ट विश्वकप खेलिसकेको अफगानिस्तानले ५ खेलमा पराजय भोगेको थियो भने स्कटल्यान्डमाथि १ विकेटको विजय हात पारेको थियो।

२०१८ जुनमा अफगानिस्तानले टेस्ट मान्यता पनि पायो। त्यसभन्दा अघि २०१४मा यी दुई टोलीले अन्तिम पटक एकदिवसीय खेल खेलेका थिए। उक्त खेलमा अफगानिस्तान १०८ रनले विजयी भएको थियो। सन् २००४ देखि नेपाल र अफगानिस्तान आमनेसामने हुँदै आएका छन्। सोही वर्ष भएको एसीसी ट्रफीमा नेपालले अफगानिस्तानलाई हराएको थियो। त्यसयता भएका बाँकी ६ खेलमा नेपाललाई अफगानिस्तानसँग पराजित हुँदै आएको छ।

२००४ एसीसी ट्रफी

नेपाल १४७ (४८.२ ओभर) भर्सेस अफगानिस्तान १०० (४१.२ ओभर)
नेपाल ४७ रनले विजयी

२००६ एसीसी ट्रफी

अफगानिस्तान २७०/८ (५० ओभर) नेपाल ११५/५ (३७.४ ओभर)
अफगानिस्तान डिएलमा ६४ रनले विजयी

२००८ डिभिजन ५

अफगानिस्तान १४२ (४९.३ ओभर नेपाल १०५ (४५.५ ओभर)
अफगानिस्तान ३७ रनले विजयी

२००८ एसीसी ट्रफी

नेपाल २१०/८ (५० ओभर) अफगानिस्तान २१३/७ (४८.२ ओभर)
अफगानिस्तान ३ विकेटले विजयी

२०१० एसीसी ट्रफी

अफगानिस्तान २२४ (५० ओभर नेपाल १२९ (४० ओभर)
अफगानिस्तान ९५ रनले विजयी

२०१३ एसीसी इएमर्जिङ कप

अफगानिस्तान १६९/९ (५० ओभर) नेपाल १५७/१० (४५.३ अोभर)

अफगानिस्तान डिएलमा ३ रनले विजयी

२०१४ एसीसी प्रिमियर लिग

नेपाल १२८/९ (३२ ओभर) अफगानिस्तान २६२/१० (४९.३ ओभर)
अफगानिस्तान डिएल माथ्थडमा १०८ रनले विजयी

स्थिति
विश्वकप छनोट अन्तर्गत बिहीबार भएको समूह बी को खेलमा स्कटल्याण्डले नेपाललाई पराजित गरेसँगै सुपरसिक्समा स्थान पक्का गरिसकेको छ। तर, सोहीदिन अफगानिस्तानलाई हङकङले पराजित गरेपछि सो समूहमा रहेका स्कटल्याण्ड बाहेकका चार टोलीको सुपरसिक्समा पुग्ने सम्भावना जिवितै छ।

पाँचवटा टोली सम्मेलित समूह चरणमा एकअर्कासँग खेलिसकेपछि शीर्ष तीन स्थानमा रहने टोलीले सुपरसिक्समा स्थान बनाउँनेछन्। सुपरसिक्समा अर्को समूहसँगका टोलीसँग खेलिसकेपछि शीर्ष दुई स्थानमा रहने टोलीले २०१९ को विश्वकपमा स्थान बनाउँनेछन्।

समूह बी बाट स्कटल्याण्डले तीन खेल जित्दै ६ अंकका साथ सुपरलिगमा स्थान पक्का गरिसकेको हो। त्यसबाहेक बाँकी टोलीहरु जिम्बावे, हङकङ, अफगानिस्तान र नेपालका लागि शीर्ष तीनको ढोका भने अझै खुला छ।

आयोजक राष्ट्र जिम्बावेले लगातार सुरुका दुई खेल जित्दै ४ अंकका साथका साथ अपराजित छ। दोस्रो स्थान ओगटेकाले हङकङ, अफगानिस्तान र नेपाल भन्दा सुपरसिक्समा पुग्ने उसको सम्भावना बढी छ। बाँकी दुई खेलमा हङकङ वा स्कटल्याण्डमध्ये एउटालाई मात्रै पराजित गरे उसले सुपरलिगमा स्थान पक्का गर्नेछ।

तर, दुबै खेलमा पराजित भयो भने चाँही जिम्बाबे नेपालको नतिजाको भर पुर्नपर्नेछ। नेपालले बाँकी दुई खेलमा अफगानिस्तान र हङकङलाई पराजित गर्यो र रनरेटमा जिम्बावेलाई पछि पार्यो भने जिम्बावेको स्थानमा रहँदै नेपालले सुपरसिक्सको यात्रा तय गर्नेछ।

स्कल्याण्डसँग पहिलो खेलमा पराजित हङकङ दोस्रो खेलमा बिहीबार अफगानिस्तानलाई पराजित गर्दै २ अंकका साथ हाल अंकतालिकाको तेस्रो स्थानमा छ। हङकङले बाँकी दुई खेलमा नेपाल र जिम्बावेलाई पराजित गरे सजिलै सुपरसिक्समा स्थान बनाउँनेछ। नेपाललाई जित्यो र जिम्बावेसँग हार्यो भने पनि स्कटल्याण्ड र जिम्बावेसँगै हङकङले सुपरसिक्समा स्थान बनाउनेछ।

लगातार तीन खेलमा पराजित भएको अफगानिस्तानको सम्भावना पनि बाँकी छ। उसले अन्तिम खेलमा नेपाललाई राम्रो रनरेटमा हराउँनुका साथै हङकङ र नेपालले बाँकी रहेका दुई खेल हार्ने हो भने उसको सुपरसिक्समा पुग्ने सम्भावना छ। यदि हङकङले कुनै एक खेल वा नेपालले शनिबार उसलाई पराजित गर्ने हो भने अफगानिस्तानको सुपरसिक्समा पुग्ने सम्भावना तुहिनेछ।

नेपालसामू भने सम्भावना र चुनौती दुवै छ। नेपालले सुपरसिक्समा पुग्न बाँकी दुई खेलमा जित्नैपर्ने स्थिती छ। नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङलाई पराजित गरे सुपर सिक्समा स्थान बनाउँनेछ। यता, अफगानिस्तानलाई हराएर हङकङलाई जितेको अवस्थामा र हङकङले जिम्बावेसँगैको खेल जितेको अवस्थामा भने नेपाल सुपर सिक्समा पुग्नबाट रोकिनेछ।

तर, हङकङले दुबै खेल गुमायो र नेपाल अफगानिस्तानसँग हार्यो भने अंकतालिकाको तेस्रो स्थानका लागि हङकङ, अफगानिस्तान र नेपालबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तोमा रनरेट जसको बढी भयो त्यो टोली स्कटल्याण्ड र जिम्बावेसँगै सुपरलिगमा प्रवेश पाउँनेछ।

अफगानिस्तानको खराब लय र हङकङ नेपालको स्तरकै टोली भएकाले विश्व क्रिकेट लिग डिभिजन दुई यताको राम्रो प्रदर्शन कायमै राखे नेपालको सुपरसिक्स हुँदै एक एकदिवसीय मान्यता पाउँने सम्भावना छ।

प्लेयर्स टू वाच

सन्दीप लामिछाने(नेपाल)
नेपालका लेगब्रेक युवा बलर सन्दीप लामिछानेले नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा १७ विकेट लिँदै प्लेयर अफ द टुर्नामेन्ट भएका थिए। सो प्रतियोगितापछि जारी विश्वकप छनोटमा सन्दीपले ३ विकेट लिएका छन्। नेपालको सिनियर टोलीबाट लिस्ट एका १७ वटा खेल खेलेका सन्दीपले ३२ विकेट लिइसकेका छन्। बलिङमा सन्दीप चले नेपाल अफगानिस्तानविरुद्ध हावी हुनसक्छ।

रसिद खान(अफगानिस्तान)
सन्दीप झै रसिद पनि लेगब्रेक स्पिनर हुन्। नियमित कप्तान अस्गर एपेन्डेसिक्सको अपरेसन भएका कारण खेल्न नसक्ने भएपछि उनी टोलीको कप्तान चुनिएका थिए। रसिदले जारी विश्वकप छनोटमा ३ खेलमा ४ विकेट लिएका छन्। ४० वटा एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेका रसिदले ९० विकेट लिएका छन्। उनी हाल एकदिवसीय अन्तराष्ट्रिय शीर्ष १० बलरको सुचीमा दोस्रो नम्बरमा छन्।

आजको लाइभ

प्रकाशित मिति २६ फाल्गुन २०७४, शनिबार १०:५०
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस