बोक्सी काण्डमा घाइते भएकी चेली भन्छिन  : ‘मेयरले मलाई बचाउन आवश्यक ठान्नु भएन’

म राधा चौधरी, १८ वर्षकी भएँ । कैलाली जिल्ला, घोडाघडी नगरपालिका, वडा ५, देउकलियामा मेरो घर छ । घरको नाममा छाप्रो छ, त्यत्ति हो हाम्रो सम्पत्ति । सिजनमा बुबा अरूको खेत जोत्न जानुहुन्छ, अरू वेला इन्डिया गएर दुई–चार हजार लिएर आउनुहुन्छ । यसैगरी हाम्रो गुजारा चलेको छ।

मेरो दाइ पनि छ, तर सुस्त मनस्थिति भएकाले बुबालाई ‘सपोर्ट’ गर्न सक्दैन । बहिनी पनि बिरामीजस्ती छ, भाइ सानो छ । त्यसैले बाआमालाई धेरै दुःख छ । तैपनि मलाई पढाउन खोज्नुभएको छ । गाउँकै राष्ट्रिय उमाविमा कक्षा ११ मा पढ्छु । राजनीतिशास्त्रकी विद्यार्थी हुँ ।

बिहीबार नारी दिवस, स्कुल छुट्टी थियो । त्यसैले बिहान गोठमा गएकी थिएँ । दुईवटा बल्ल (गोरु) छन्, गोबर फालेर ७ बजेतिर घर फर्कन थालेकी थिएँ, तीन–चारजना केटी हुत्तिदै आएँ ।ती केटीहरू पनि हाम्रै स्कुलमा पढ्छन् । चिच्याउँदै आएको देखेर अनौठो लाग्यो । यिनीहरूलाई के भएछ भन्ने लाग्यो । तर, नजिक आउनासाथ मलाई झम्टिहाले । तँ बोक्सी भनेर भकुर्न थाले, लछारपछार गर्न थाले । मैले केही बुझ्नै सकिनँ । उनीहरूले घिसार्न थाले ।

कतिले कपालमा समातेर ताने, अरूले लात्ताले हान्दै मलाई रामबहादुर चौधरीको घरमा लगे । रामबहादुर हाम्रो गाउँको झाँक्री हो । उसले आफूलाई शिवभक्त भन्छ । शिवरात्रिको दिनदेखि उसको घरमा पूजा लागेको छ । उसले हिजोसम्म ५४ हजार रुपैयाँ जम्मा गरेको रहेछ ।

मान्छे जो आउँछन्, भेटी दिन्छन् । तर, भेटी दिने मान्छे कम आउन थालेपछि उसले फेरि मान्छे जम्मा गर्ने जुक्ति निकालेको होला । गाउँमा बोक्सी छन्, ठीक पार्छु भनेको रहेछ । त्यसैले मलाई समातेर त्यहाँ लगे ।रामबहादुरको आँगनमा पुग्दा मान्छे वरिपरि थिए, पछि झन् धेरै थपिए । ती सबैको अगाडि रामबहादुर झाँक्रीले मलाई कुटपिट गर्न थाले । रामबहादुरबाट धामी विद्या सिकिरहेको भन्ने पार्वती भन्ने महिला ममाथि जाइलागिन् ।

उनीहरूले नागजस्तै हाउभाउ बनाएर वरिपरि घुम्दै मलाई मुक्का हानिरहेका थिए, लात्ती बर्साइरहेका थिए । त्यसमाथि ‘तँ बोक्सी होस्, तैँले दुनियाँका बच्चा खाइस्, कसैका बाआमा खाइस्’ भन्दै मेरो हुर्मत लिइरहेका थिए ।
म बोक्सी होइन, मैले केही पाप गरेको छैन, म स्कुलकी विद्यार्थी हुँ, गरिबकी छोरी हुँ, मलाई बचाउनुहोस् भनेर समाजसामु गुहार मागिरहेकी थिएँ, तर उनीहरू कोही पनि बोलेनन् । बरु ममाथि हरेक झापड बर्संदा उनीहरूले ताली पिटेर खुसीले हुटिङ गरिरहेका थिए ।

केहीबेर पिट्न छाडेर घाममा पल्टाउँथे, अब बोक्सी बक्ने वेला भयो भन्थे । मैले पानी माग्दा फेरि भकुर्न थाल्थे । मेरो पेटमा, छातीमा लात्तैलात्ताले हान्दा रमिते भने ताली पिटिरहेका थिए ।यसरी बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मलाई यसैगरी कुटियो । ७ घन्टासम्म म कहिले मुर्छा परेँ, कहिले ब्युतिएँ । मुर्छा परेका वेला थाहा भएन, ब्युँतिएको वेला उनीहरूले कुटिरहेका हुन्थे ।१ बजेतिर गाउँका दुई–तीनजना दाइहरू आउनुभयो । उहाँहरूले यसरी बालिकालाई कुटपिट नगर भनेर बोल्नुभयो । झाँक्रीले तिमीहरूलाई पनि यही त्रिशूलले मारिदिन्छु भनेर थर्काउन थाल्यो । त्यहाँ वादविवाद भयो । त्यही मौकामा मेरो भाइले मलाई घर लिएर आयो ।

घरमा आएपछि म फेरि मुर्छा परेछु, मलाई एम्बुलेन्समा राखेर अस्पताल ल्याइएछ, फेरि होस आयो । त्यही वेला जाहेरी दिन भनेर प्रहरी चौकीमा लगियो । एकैछिनमा झाँक्री रामबहादुरलाई पनि त्यहीँ ल्याइयो । तर, ऊ डराएको थिएन ।
म शिवभक्त हुँ, मैले जे पनि गर्न सक्छु भनेपछि उसलाई प्रहरीले खुट्टामा ढोग्न थाले । तर, जाहेरी लिन मानेनन् । बरु, त्यही झाँक्रीले त्यहीँ यसलाई केही पनि भएको छैन, झारफुक गरेर भर्खरै जस्ताको तस्तै हुन्छे भन्दै मन्त्र पढ्न थाल्यो । प्रहरीकै अगाडि मलाई चामल खान लगाइयो । तर, मलाई असह्य भइरहेको थियो ।

त्यही वेला सेतो स्कारपियो गाडीमा मेयरसा’प (मतताप्रसाद) चौधरी आउनुभयो । उहाँ पहिले हाम्रो स्कुलमा पढाउनुहुन्थ्यो, अस्ति भर्खर चुनाव पनि जित्नुभएको हो ।

त्यसैले उहाँ आएपछि मेरो पक्षमा बोल्नुहुन्छ, प्रहरीले जाहेरी पनि लिन्छ र ममाथि कुटपिट गर्नेलाई कारबाही पनि हुन्छ भन्ने आशा पलाएको थियो । तर, तिमीलाई के भयो भनेर एक शब्द पनि बोल्नुभएन । एकछिन रमिता हेरेर फेरि गाडी चढ्नुभयो, धुलो उडाउँदै उहाँको गाडी गयो ।मलाई निकै पीडा भएपछि आफन्तहरूले सुखड अस्पताल लग्नुभयो । पछि प्रहरीले झाँक्रीलाई छाडेछ ।

बिहान उनीहरू आएर मिलापत्र गर्न कुरो गरे । औषधिमा लागेको ३७ सय रुपैयाँ दिएर चुप लाग भनेर हामीलाई धम्की दिँदै थिए ।तर, मेरा आफन्तले मान्नुभएन । ऋण गरेर पैसा तिर्न खोज्दा पनि होहल्ला गर्दै थिए । तर, मेरा आफन्तले मलाई क्षेत्रीय अस्पताल धनगढी लिएर आउनुभएको छ । यहाँ उपचार भइरहेको छ, मैले केही खान सकेकी छैन, पानी पिउन, थुक निल्न पनि भएको छैन ।शरीर पूरै थिलथिलो भएको छ । खासगरी संवेदनशील अंगहरूमा लात्तीले..

प्रकाशित मिति २७ फाल्गुन २०७४, आईतवार २१:३५
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस