इन्द्रबहादुर राईलाई मार्क्सवादप्रति एलर्जी थियो !

एउटा बुझेको साहित्यकारले नै अर्को साहित्यकारको राम्रो अन्तरवार्ता गर्न सक्छ भन्ने उदाहरण हुन सक्छ यो । अविनाश श्रेष्ठले इन्द्रबहादुर राईसँग यो अन्तरवार्ता लिँदा उनी नेपाली साहित्यमा एमए गर्दै थिए । एमए सकेपछि श्रेष्ठले प्राध्यापन र साहित्यिक पत्रिकाको सम्पादन दुबै गरे ।

प्रज्ञा प्रतिष्ठानको नियमित प्रकाशन समाकालीन साहित्यलाई श्रेष्ठको सम्पादन कालको उत्कृष्ट अंक मानिन्छ । त्यसैगरी केही वर्षअघि उनले साझा प्रकाशनबाट नियमित प्रकाशन हुने गरिमा मासिकको पनि सम्पादन गरेका थिए ।

इन्द्रबहादुर राईको यो अन्तरवार्ता सन् १९८५ को मध्यतिर इन्द्रबहादुर राईकै दार्जीलिङस्थित घरमा लिइएको लिखित अन्तरवार्ता हो । अन्तरवार्तामा इन्द्रबहादुर राईका धेरै महत्वपूर्ण कुरा आएका छन् । आजभन्दा ३३ वर्षअघि पञ्चायतीकालमा नेपाली पत्रिकामा छापिएको मार्क्सवादसम्बन्धी विचारले त्योबेला राजनीतिकरुपमा पनि तरंग उत्पन्न गरेको थियो ।

गरिमामा ०४२ सालमा प्रकाशित स्व. इन्द्रबहादुर राईको अन्तरवार्ताको मुख्य अंश यस्तो छः

केही साधारण प्रश्नबाट यहाँसित अन्तरवार्ता थालिरहेको छु । ती प्रश्नोत्तरतिर लम्कनुअघि सबैभन्दा पहिले आफ्नो जन्मथालो र जन्मसाल बारे पाठकहरुलाई सही जानकारी दिन हुन अनुरोध गर्दछु !

दार्जीलिङको वालासन खोलाको गड्तिरमा वि.सं. १९८४ माघ १७ गते जन्मिएको हुँ । वालासन खोलामा जन्मिएकाले आफ्नो साहित्यिक कृतिमा ‘वालासन इन्द्र’ नाम राखौं कि भन्ने सोचेको थिएँ । तर त्यसले नेपाली अर्थ दिएजस्तो लागेन र इन्द्रबहादुर राई नै राखेँ ।

तपाईंका बुवा–आमाको नाम ? तपाईंको व्यक्तित्व निर्माणमा उहाँहरुको उल्लेखनीय भूमिका निश्चय छ । कुनै घतलाग्दो प्रसङ्ग सम्झनुहुन्छ कि ?

बुवा रणबीर राई । आमा हस्तमाया देवान राई । किताब जतिवटै किन्नलाई मलाई पैसा छैन उनीहरुले कैले भनेनन् । आज यो झल्याँस्स सम्झेँ ।

आफ्नो लेखाइका प्रारम्भिक प्रेरणा स्रोतहरु बारे सम्झँदा, यहाँको आँखामा अनायास उभिन आउने व्यक्तित्वहरु कुनै छन् कि ? अनि उहिलेका र अहिलेका प्रेरणा–स्रोतहरुमा अन्तर के देख्नुहुन्छ ?

मलाई घरमै आई साउँ अक्षरदेखि तर्कशास्त्रसम्म (१२ वर्ष) पढाउनु भएको कमलकुमार शर्माज्यू । त्योबेला उहाँले नै मलाई शारदा र खोजी पत्रिका पढ्न दिनुभएको हो । अनि सम्झन्छु, मेरो बोजूलाई पनि, जसले महाभारतको वनपर्व भाका हालेर सधैं सुनाउनू, भन्नुहुन्थ्यो । अनि ज्ञानदिलदासका सधुक्कडी भजनहरु एक्लै गाएको मैले बाबुलाई सुनेको थिएँ । तर, ती भए पुराना प्रेरणाहरु उहिल्यैका । प्रेरणा खोजेर होइन, उत्तरदायित्व–चेतले लेखिन्छ अब ।

कविताको भाषा र शिल्पमा ‘तेस्रो आयाम’ नियोजिततामाथि विश्वास गर्दछ भन्ने विचार ईश्वर वल्लभज्यूले पटक–पटक भन्नुभएको पढ्न पाइएको छ । के नियोजितता कविताको स्वाभाविक संरचना र संवेदनशीलताका लागि अवरोध बन्दैन र ?

‘पितालाई बालकहरुले पिटे भने सेतै युवाहरु फुल्नेछन् ।’ एउटाले लेखेको पहिलो पङ्तिमा अर्कोले लेखेको दोस्रो पङ्ति जोड्दा जन्म्यो, यो पङति । त्यस्तै जोडाइ थियो–अति यथार्थवादीय उत्कृष्ट शव Exquisite corpse । नियोजनविहीनता त्यहाँतक पुग्दा पनि तर नियोजित प्रयोगकै थियो ।

नियोजन मात्र, सहजतै मात्र हुँदैन सिर्जनात्मक कृतिमा । नियोजनाभित्र पनि सहजता, सहजताभित्र पनि नियोजना हुन्छ नै ।

कविताको भाषा र अन्य विधाको भाषामा के–कस्तो अन्तर हुन्छ भन्ने ठान्नुहुन्छ यहाँले ?

निख्खर गद्यले भनिसकेपछि सुनिसकेपछि ‘सन्तुष्टि’ दिन्छ, भनिसकेको बुझिसकेपछि । कविताले भन्दैदेखि, भनेको सुन्दैदेखि आनन्द दिन्छ । नाटक वा उपन्यासको आफ्नै काव्यात्मकता हुन्छ, मुख्य त्यो हो ।

एकजना लेखकले कतिसम्म लेखेको जाति भन्ठान्नुहुन्छ ?

लेखकले आफ्नै दृष्टि र त्यसअनुरुपको लेखनप्रविधि पाउनुपर्छ । त्यस अनुसार आवश्यक जति लेख्नुपर्छ । अन्धाधुन्ध जेसुकै पनि लेख्ने लेखक होइन ।

‘आज रमिता छ’ पछि उपन्यास विधातर्फ आँखा चिम्लनु भएको निकै समय बितिसक्यो । कुनै नयाँ उपन्यास लेख्दै हुनुहुन्छ वा लेख्ने सुरसारपट्टी लाग्नुभएको छ ?

उपन्यास लेखेरै दिनुपर्ने विचारदृष्टि र अनुभव थोकहरुमा जम्मा पनि भएकै हो । लेख्न बसिहालेँ जसो हुन्थ्यो । मस्तिष्कमा थप विचारहरुको वर्षणले ढुटो पारेको छ ऐले मेरो औपन्यासिक सङ्कल्पलाई ।

विभिन्न साहित्यिक, सामाजिक मात्रै नभएर राजनैतिक गतिविधिहरुमा समेत सक्रिय रहनुभएको पाइन्छ यहाँलाई । कतिबेला लेख्नुहुन्छ र लेख्ने कार्यमा घर–परिवारको सहयोग के कति पाउनुहुन्छ ? हालसम्म के कति लेखिसक्नुभयो ?

‘बाबाले लेख्नुपर्छ’ गृहिणीले सुनाइदिएपछि पारिवारिक कामहरु छोराले, ज्वाइँंहरुले सम्हालिदिन्छन् । तीन–चार दिन, सातादिनसम्म पनि दौडदेखि छुट पाउँछु । बाहिरको काम मैले नै गर्नुपर्ने वा मैले पनि गर्नैपर्ने भए मात्र, नत्र लेख्नपर्दा ती काम लत्याउँछु । जोगीको झोलामा चामलको भन्दा विविधता छ मेरो दिनमा । कैले त आफूलाई जोगीजस्तै लाग्छ । लेखादि यस वर्ष, ऐलेसम्म पाँचवटा नेपालीमा र दुईवटा अंग्रेजीमा लेख्न पाएँ ।

बैरागी काँइला र वल्लभ निकै लामो समयसम्म तपाईंको सम्पर्कमा रहेको कुरा सर्वविदित नै छ । यी दुबैको लेखनक्षमता, प्रतिभा र लेखन प्रक्रियाको तपाईं साक्षी हुनुहुन्छ । काँइला र वल्लभको आन्तरिक प्रतिभागत क्षमताबारे लेखाङ्कित गर्नुपर्दा यहाँले कसरी गर्नुहुनेछ ?

प्रतिभा–प्रक्रिया जान्न कसैको सकिँदैन । सँगै बात गथ्र्यौं, एकै किताब पढ्थ्यौं, गृहीति तर आफ्नो आफ्नो हुन्थ्यो । तिलविक्रम काईंलाको गङ्गा नीलो बग्छुमा निकै ठाउँ ठूलो म छु । कुलचन्द्र गौतमको ‘राघवालङ्कार’ मा राममा आरोपित मदेखि अर्को कहीँ कोही छैन है भनी त्यो तिमीलाई निल्दछन्’ को सिर्जनान्तरण हो त्यो म ? कहाँकहाँको कुरा सम्वद्ध तुल्याई काइँलाले यसरी चट्याङ पार्थे । चिनेकै कुराबाट ईश्वर वल्लभले निकाल्थे, फूलका आगोका । काँइलाको विचारमा व्यवस्थित, उनको त्यो सवलता । वैचारिक क्रमवद्धता नराखी पनि बल्लभ सटिक युक्तिमा पुगेका पाइन्थे ।

केही समयअघि ‘गरिमा’मा प्रकाशित बैरागी काइँलाको अन्तरवार्तामा काइँलाले यहाँसँग संलग्न रही कुनै ‘लीला लेखन’ नामक प्रयोग यात्रा थाल्ने संकेत दिनुभएको पाएँ । यो लीला लेखन के हो ? के यो ‘तेस्रो आयाम’ भन्दा नयाँ साहित्यिक यात्रा हो ? यदि ‘लीला लेखन’ नयाँ साहित्यिक आन्दोलन हो भने यसको वैचारिक पृष्ठभूमिबारे केही भन्नुहुन्छ कि ?

अर्थ–मूल्य–निरपेक्ष वस्तु नामहरु, विशेषणहरु पनि उप्किएर सधैं आफैं मात्रस्थित छ निख्खर । अर्थ ज्ञाताको हो, मूल्य श्रष्टाको हो, नाम विशेषण प्रयोक्ताको, वस्तुको होइन । वस्तु छ मात्र । वस्तुको यो यथार्थ वस्तुता ।

वस्तु–वस्तुतामा निर्गुण छ । अर्थ, मूल्य, विशेषण, नामसँग देखिनु हो वस्तुको लीला । अवश्य नै मानिसकै असमान अस्थिर संवेदता र बौद्धिकताले हुन सक्छ त्यो । अनुभव र ज्ञानका भेदहरु सृष्टि हुने मानिसको सब कार्य हुन्छ, वस्तुतात्मक लीलावन्त । वस्तुताको अक्षमा लालायित भिन्नताहरुलाई अन्तरणहरुलाई समेत ती कारणहरुलाई लेख्नु ‘लीला लेखन’ हुँदैछ । अनाशक्त आशक्तिले लेखन हुँदैछ यो । ‘वस्तु’ पनि एक प्रत्यय कथिएको मात्र हो । यथार्थमा छ–छैन, होला अज्ञेय नै ।

‘इन्द्रबहादुर राईले भाषामा दुर्बौधता, वलजफ्ती हाल्नुहुन्छ, श्री राईले नेपाली भाषाको स्वरुलाई बिगार्नुभो’ भनिन्छ नि ?

बुझिने प्रचलित भाषामा लेखिएको चाहनेहरुको साहित्यिक सिद्धान्तीय आधार छः उनीहरु भाषाको संरक्षण चाहन्छन् । साहित्यमा प्रचलित भाषा र साहित्यलाई अभिन्न मान्छन् । साहित्य भाषाको निम्ति देख्छन् । साहित्यकारलाई भाषासेवी भन्छन् । हामी केही भिन्न धारणाको छौं ।

साहित्यिक–सामाजिक दृष्टिकोणले हेर्दा काठमाडौं र दार्जीलिङबीच अघिको त्यस्तो सुमधुर सम्बन्ध हाल मुत्युमुखी बन्दै गइरहहेको छ । यसो हुनुको पछि के–कस्ता कारणहरु छन् भन्ने ठान्नुहुन्छ ?

आधिकारिक सम्बन्ध छँदैछ, त्यो चुँडिने होइन । नेपाल–भारतदुई देशमा नेपाली साहित्य लेखन हागिँदैछ । त्यो तर सांस्कृतिक साहित्यिक सौहार्दको ह्रास हुँदैन कहिले पनि ।

कतिपयले भनेको सुनिन्छ– ‘इन्द्रबहादुर राईलाई मार्क्र्सवादसँग एलर्जी छ ।’ वास्तवमा मार्क्सवादी दर्शनसित यहाँको मनभिन्नता हो वा त्यसलाई व्यवहारमा ल्याउनेहरुले समयसापेक्ष व्याख्याका साथ प्रयोग गर्ने ढङ्ग नपुर्‍याएको देखेर तिनीहरुप्रति उब्जेको खिन्नता हो, यहाँको एलर्जी ?

मार्क्र्सवाद शतप्रतिशत भूल छ भन्दिनँ । मार्क्सवाद सतप्रतिशत ठीक छ पनि भन्दिनँ । कुनै पनि कलाको मूल्य त्यसको प्रगतिशील वा प्रतिक्रियाशील विचारभावमा निर्भरित हुन्छ । मार्क्सले यस्तो कैले पनि लेखेनन् । किन होला नलेखेको ? विचार गर्लान् त हाम्रा लालसाथीहरुले ?

फेसनको गहिरो अर्थ यहाँले कुन कुरोमा निहीत देख्नुहुन्छ ? फेसन र साहित्यको अन्तरसम्बन्धलाई कालको परिप्रेक्ष्यमा प्रस्टाउनु परे यहाँले कसरी प्रस्ट्याउनु हुन्छ ?

लुगाफाटोको फेसन उच्चवर्गबाट थालिन्छ । तादात्म्यीकरणमा तलका वर्गहरुले पनि अनुकरण गर्छन् । अलग्गिनलाई फेरि उच्चवर्गले नयाँ फेसन थाल्छ । साहित्य लेखनमा यस्तो हुन्छ र ? साहित्यमा टेस्ट (रुचि) भन्ने चाहिँ हुन्छ, जुन देशीय, युगीय हुँदैछ ।

भनिन्छ, प्रत्येक सफल व्यक्तिका पछि असफलताका लस्कर हिँड्छन् । र, तिनै असफलता नै उसका प्रेरणास्रोत बन्छन् । आफ्ना असफलताबारे यहाँको अनुभव ?

असफलताले कैले मेरो छेऊमा ढिम्किन पाएन । चाहेको जे गर्न, पाउन, हुन । मैले सधैं खुला सडक पाएँ । जति दगुरे पनि हुने सडक पाएँ । म भूल बाटो पनि दगुरेको छु, तर सफलतापूर्वक ।

आफू केटाकेटी हुँदाको कुनै दुःखद संस्मरण र त्यसको आफ्नो जीवनमा परेको छापबारे हाम्रा पाठकलाई केही जनाउनुहुन्छ कि ?

सामान्यताः सानोमा दुःखद अनुभव नै हुँदैन । सानोमा दुःख पनि सुख नै हुन्छ । ठूलोमा सुख पनि दुःख । सानोमा दुःख क्षणिक ठूलोमा सुख क्षणिक ।

अब त उमेर पनि निकै गैसक्यो । लेखनकार्यमा उमेरले के कस्तो प्रभाव पारेको महसुस गर्नुहुन्छ ? कुनै रोग उमेरले दिएको ?

रोगहरु फुटिहालेको छैन, आजको दिनसम्म । बार्धक्य बढेकै हो । दिउँसो ११ बजीतिरबाट लेख्न बस्छु ओछ्यानमा । ओछ्यानमै लेख्यो, चिया माग्यो, झुल्यो, उठेर फेरि लेख्यो, गर्छु । लेख्दा घरमा गीतहरु बजिरहेको, नाति–नातिनीहरुले कोठामा आएर कराइरहेको मजा लाग्छ मलाई । गीतहरु बजेन, आएनन् नातिनातिनाहरु पनि भने लेख्न छाडेर उठ्छु र के भएछ खोज्न पुग्छु ।

तस्वीर– कुमार आले

प्रकाशित मिति २८ फाल्गुन २०७४, सोमबार १३:३७
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस