एउटा प्रदेशीले लेखेको ३ करोड नेपालीको मन छुने कविता

अन्तिम बिद्रोह

हो महोदय -मैले बिद्रोह गरेकै हो ।

बिद्रोह त त्यो बेला पनि गरेको हुं

जुटको बोराभित्र आधा शरीर पोको पारेर

पुर्णिमा रातको साची बस्दै गर्दा

चुपचाप चुपचाप हेरिमात्रै रहने जुनले

बिहानीपख असरल्ल आँसु मात्रै छोडेर

मेरो जिन्दगीबाट गएको दिन ।

 

दुइछाक पेटभरी खाने

शरिर छोप्ने गरि एकसरो लाउने

आशाको बीउ रोपेर

मुखियाको टारिखेतमा रातदिन नभनी

असारे गोरु झैं जोतिएकै हुं ।

हातमा कलम खेलाउने

हजारौ रहरहरुलाइ बलि चढाएर

साहु साइलाको बुकमा बारिमा

यी हातमा कोदालो थमाएकै हुं ।

तर,

गरिबीको चर्को राप र

तिम्रो शोषणको छाँयामा परेर

मेरो सपनाको बिउ टुसाउन नसकेपछि

तिम्रो बिरुद्द बिद्रोह गरेकै हुँ।

 

मानव आकृती मात्र

पुर्ण मानबजिबन होइन भनेर

लाटो मष्तिष्कले आफ्नै बिरुद्द

बिद्रोहको झण्डा उठाएपछि

अस्तित्वको खोजिसंगै

काठ्माण्डौले गराएको

इंटा र बालुवा संगको ताजा सात्क्षात्कार

बंगाली कोइलाखानिको सुरुङमा

पथ्थरको भित्ता र गैतिहरु संगको लुकामारि,

यी सयौं कुइनेटोहरु संग

हजारौं पटक ठक्कर खांदा

निस्किने झिल्काहरुमा

आफ्नो स्वाभिमानको तस्बिर भन्दा

तिम्रै सामन्ती अनुहार बारम्बार झल्किएपछी

अर्को बिद्रोह उठाएको थिएं तिम्रो बिरुद्द

र देखेको थिएं बन्दुकको नालभित्र

आफ्नो अस्तित्वको धमिलो तस्बिर ।

 

महोदय,

यत्ती चाहिँ मलाइ थाहा छ

बन्दुकहरुको लामो सौदाबाजी पछि

तिमी र म आइपुगेको बिन्दु

अक्षरांस भुलेका छौ तिमिले

र भुलेका छौ त्यो पनि

मैले तिम्रो बिरुद्द बिद्रोह गरेको मात्रै पनि थिइन ।

 

मानबताबाट आफू निर्देशित हुँदै

इतिहासको मागलाइ सर्वोपरी ठानेर

तिम्रै बिरुद्द उठाएको बन्दुक सोझाउदैतिम्रै रक्षार्थ चौबिसै घण्टा “गारद” पनि चढेकै हुँ

तर पनि,

पालो पाएन मेरि आमाको च्यात्तिएको चोलिले

फेरिएनन फरिया

लागेन मलम मेरो बाको फुटेको पाइतालामा

अनुभव गरेन स्पर्श त्यो खालि खुट्टाले

एक जोर हात्तिछाप चप्पलको ।

दुई भागमा छुट्टिइसकेको जिन्दगी

मेरो भागमा बांकी रहेको एकभाग

कांधमा बुबाको अर्को बिश्वास

निधारमा काम्दा काम्दैको आमाको आशीर्वाद

छातिमा लत्पतिदै गरेको पृयसिको अनुनय

पाखुरामा सन्तानको सिरानी बोकेर

मरुभुमिमा अर्को सपनाको बीउ रोप्ने साहस संगै

उभिइरहेको छु लाखौ सपनाहरुको चिहानमाथी ।

 

यतिबेला त्यो लाटो मस्तिष्क

फेरि पनि सल्बलाइरहेको छ

निरन्तर सोधिरहेको छ –

यदि सगरमाथा हुदैनथ्यो भने

के संग तौलिन्थ्यौ र बनाउथ्यौ?

तिमिले जलपी वीरताको भाष्य ?

पराइ देशको आखाले टाढाबाटै

ठम्याउछ हिमालहरुको देशको मान्छे,

मानौ, म नै त्यही हिमाल हो

जो निरन्तर सामना गर्न सक्छ

अनवरत हिउँका बर्षाहरु

बगाउन सक्छ पसिनाको खोला

र त, टाउकोभरी बर्साइरहन्छ

लगातार आदेशरुपी हिउँ समयले

बगिरहन्छ पसिनाको हिमनदीहरु

मेरै शरिरको बाटो हुँदै

पुग्छन अरबको फांटसम्म

अनि सिचिंन्छ मरुभुमी

उमार्छ बिकाशका गगनचुम्बी महलहरु,

मेरै पसिनाको जगमा उभिएको

यो महलहरुको जंगलभित्र

मेरो सपनाको बीउ उम्रीयो कि उम्रीएन

म अझै पनि बेखबर नै छु

तर कुनै गुनासो पनि छैन

जसले मेरो सपनाको भ्रुणमाथी

छांया मात्रै ओढाइरह्यो ।

 

एक भाग जिन्दगी र पुरै यौवन सुम्पिए बापत

पराइको नियन्त्रणमा रहेको समयले पनि

मेरै अगाडि उभिएर सम्मान गरिदियो

र उपहारमा थमाइदिएको छ

मेरो आफ्नै शिरमाथि

एउटा सग्लो हिमाल ।

 

जबर्जस्ति अपहरणमा पारेर

चुपचाप चिहानमाथी कैद गरिएका रहरहरु

उकुसमुकुस भित्रबाटै

सशक्त बिचारमा बदलिएको छ

महोदय,

तिमी भ्रममा नपर्नु कि,

यो मेरो शिरको सेतो कपाल

यौवन र जोश उतै सकिएर फर्किएको

ब्याकुलताको छांया मात्रै हो

बरु तिमी ढुक्क नरहनु,

यो त मेरो सबथोक त्यागेर चुलाइएको

बिश्वास र साहसको चुली हो

जो तिम्रो बिरुद्दमा

“अन्तिम बिद्रोह” गर्नु छ ।

 

समिर तामाङ खिजिदेम्बा २ओखलढुंगा
हाल दक्षिण कोरिया ।

प्रकाशित मिति १८ जेष्ठ २०७५, शुक्रबार १३:४५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस