भूकम्प प्रभावितको पुनःसर्वेक्षण गर्दा १ लाख ३० हजार बढी घरधनी भेटिए

काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दुई वर्षअघिको भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा पुनःजाँच तथा पुनःसर्वेक्षण गर्दा थप १ लाख २६ हजार ३ सय २६ घरधनी देखिएका छन्।

प्राधिकरणले गत साउनमा ३ सय ३२ जना इञ्जिनियरलाई सर्वेक्षणमा छुटेका तथा पुनःजाँच गर्नुपर्ने घरहरुको तथ्यांक संकलन गर्न खटाएको थियो। कतिपय भूकम्पप्रभावितले आफ्नो घरमा क्षति पुगे पनि लाभग्राही सूचीमा नाम नपरेको भन्दै गुनासो गरेपछि खटाइएको टोलीले पुनःजाँच र सर्वेक्षण गर्दा यो संख्या थपिएको हो।

फिल्डमा खटिएकामध्ये अहिलेसम्म २ सय ५० इञ्जिनियर फिर्ता भइसकेको र बाँकी इञ्जिनियर फिर्ता हुँदाको समयसम्म करिब १ लाख ४० हजार घरधनी/घरपरिवारको लगत संकलन सम्पन्न हुने प्राधिकरणका सूचना व्यवस्थापन शाखा प्रमुख मनोहर घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार, सबै तथ्यांक प्राधिकरणको केन्द्रीय सर्भरमा प्राप्त भइसकेपछि अनुदान वितरण कार्यविधि अनुसार मापदण्ड पुगेका घरधनी÷घरपरिवारलाई लाभग्राहीको सूचीमा समावेश गरिनेछ ।

लाभग्राही सूचीमा समावेश भएपछि अनुदान सम्झौता गरी घरधनीले निजी आवास पुनःनिर्माणका लागि अनुदान प्राप्त गर्न सक्नेछन्। क्षतिको मूल्यांकन गर्दा प्रवलीकरणको सूचीमा पर्ने लाभग्राहीले घर प्रवलीकरणका लागि आवास अनुदानवापत १ लाख रुपैयाँ प्राप्त गर्नेछ भने पुनःनिर्माण लाभग्राहीमा परे निजी आवास बनाउन ३ लाख रुपैया प्राप्त गर्नेछन्।

प्रकाशित मिति ५ मंसिर २०७४, मंगलवार ०७:२३
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस