प्रवासी नेपालीको मन चसक्क बनाउने कविता ‘खुशी ‘

“खुशी”

म कहाँ छु ?
म आफै अन्योलमा छु
बेहोसमा छु कि
अर्धबेहोसमा छु कि
पुरै होसमै पो छु कि
म कस्तो छु ?
म आफै अन्योलमा छु ।

म कहाँ छु ?
हिउँको थुप्रोमा पुरिएको छु कि
मरुभुमिको बालुवामा भास्सिएको छु कि
कतै भुङ्रोमा पिल्सिरहेको पो छु कि
या पसिनाको समुद्रमा पौडिरहेको छु
म के गर्दै छु ?
म आफै अन्योलमा छु ।

यी सबका सब भुलेर पनी
यत्ती चाहिँ याद छ,
एकथान सग्लो खुशी खोज्न भनी
दशकौ अघि निस्किएको थिएं म
त्यो सानो सानो खुसिहरु बिर्सेर ।

खै ?
किन बिर्सिएछु मैले त्यी खुशिहरु ?
बुबाले दशैमा किनिदिएको
एउटा कट्टु र
एकजोर चप्पल पाउंदाको खुशी
स्कुलमा मोजाको भकुण्डो खेल्दा
बाजिमा डटपेन जित्दा होस वा
खोलामा माछा मार्न जांदा
अलि ठूलो चाहिँ माछा
आफ्नो भागमा पाउदाको खुशी
दशैमा टीका लगाएपछी भेटी हात पर्दा
तिहारमा देउसी खेलेर
दक्षिणा लिंदाखेरिको खुशी
जांचमा प्रथम वा द्वित्तिय हुदा
एक दर्जन कापी उपहार र
अबिरले रंगिन पाउदाको खुशी
स्कुलबाट भोकाएर आउदा
आमाले मकै भटमास भुटेर
झ्यालपछाडी राखिपाउंदाको खुशि
खै ?
किन बिर्सिएछु मैले यी इन्द्रेणि खुशिहरु
कुन निक्खुर रङको खुशी खोजिरहेको छु?
र बिताइ रहेछु जिवनका अमुल्य समय?

एक झोला खुशीको सुत्रहरु जम्मा पारेर
खुशिकै जहाज चढेर,
आकाशको बाटोहरुबाट
बादलको बस्तिहरु संग
बिदाइको हात हल्लाउदै हल्लाउदै
समुन्द्री राजमार्गहरुलाइ
असफल प्रतिस्पर्धी साबित गर्दै
खुशिको खोजिमा निस्किएको
म एउटा असफल यात्री
नुनै नुनले घेरिएको टापुमा
आंशुको नुनिलोसित भोक साट्दै
धर्ति र आकाश टांसिएर निसास्सिने ठाउँमा
मानबता र संवेदनाको भोग चढाउदै
सपनाहरु भासिने दलदलमा उभिएर
मनमनै खुशिको ठेली पल्टाएर
एकोहोरिरहेको मलाइ देखेर
उट्पट्याङ मच्चाउदै एक हुल बतासहरु
ध्यान भङ्ग गरेर आंखैको बाटो हुँदै
मलाइ नै गिज्याउदै गिज्याउदै गएजस्तो ।
मन झस्किन्छ,
अब यी बेवकुफ बतासहरुले
मेरो यहि हालत लगेर फुस्फुसाउनेछ
मेरो आमाको कानमा
जोडले फुक्नेछ मेरो बा को कान
जो बिस्तारै बोल्दा
अलि सुन्दिन बाबू भन्नुहुन्थ्यो ।

बिद्युतिय शैलिमा तरङ्गित हुदै
मष्तिष्कभरी प्रष्ट छापिन आइपुग्छ
युगिन इतिहासको तेजले
चाउरिएको बा र आमाको अनुहार
मानौ,
मेरो खबर पाउन नपाउदै
जवाफ पठाउन आतुर थियो सायद ।

एकथान ननब्राण्डेड खुशिको लागि
जिन्दगी दाउमा राख्दै
संसार चहारिरहेको म
एकपटक फर्किने आंट गर्दैछु
अनुभबको भारले परिपक्क भएको
आफ्नै बुबा र आमाको
अनुहारमा खुशि पढ्न ।

जहाँ खुम्चिदै गएको निधारको
प्रत्येक रेखाहरुमा सजिएका छन
खुशिको सुन्दर परिभाषाहरु
छापिएका छन
सुख र खुशिको भिन्नता
लेखिएको छ
सुख र दुखको अन्तर्बिरोध र एकत्व,
यौबनको रागहरुलाइ निषेध गरेर
पत्र पत्र बनेको छ गालाको मैदान
त्यसै पानाहरुमा सुरक्षित छ
जिन्दगिको बिवेचना र दृष्टिकोण ।

त्यति मात्रै त हुँदै होइन
आखाको छेउदेखी
कानको जरा सम्म परेको
प्रत्येक मुजा को काप कापमा
संगै च्यापेर राखेको छ
त्यसैको विश्लेषण र
संश्लेषणको प्याराग्राफ
हो, त्यो त्यही “खुशी” हो
जसको खोजिमा म
आज सम्म भौतारिरहेको छु ।

समीर तामाङ्ग बम्जन
खिजिदेम्बा – २
हाल : दक्षिण कोरिया ।

प्रकाशित मिति ३ श्रावण २०७५, बिहीबार ११:२८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस