जनताको गीत गाउने सारंगीको  तार चुड्यो

प्रचण्डकै अघि गीत गाउँदागाउँदै खुसीराम पाख्रिन ढले। अब उनको कुनै सालिक बन्नेछैन किनकि उनी सालिकमुनि थिचिएका मान्छेको पक्षमा गीत गाउँथे।पाख्रिन जनपक्षीय गीत गाउने एकजना मूर्धन्य स्रष्टा थिए। युट्युबमा भेटिने नाम थिएन उनको। समाचारका रंगीन भित्तामा होइन, सडक र गल्लीहरूमा मैलो झोलाभरि गीतका सीडी बोकेर हिँडिरहने बूढा मान्छे थिए उनी।

प्रचण्डपुत्र प्रकाश दाहालको शोकसभामा गीत गाउँदागाउँदै उनी ढलेको खबर सामाजिक सञ्जालमा फैलियो। उनलाई चिन्नेहरू टक्क रोकिए। नचिन्नेहरू कादर खानजस्तै मुखाकृति सम्झेर भावुक बने। तर, उनको अप्रत्याशित निधन भोका-नांगा मान्छेका लागि चट्याङसरि बज्रियो।

पाख्रिन पाँच वर्षको हुँदा ०१४ सालमा गोरखाको खरीबोटबाट चितवन बसाइँ सरे। चितवनको रामपुरमा सानो झुपडी बनाएर बस्न थाले। औपचारिक शिक्षा लिन पाएनन्। नारायणीको किनारामा माछा मार्दामार्दै जोबन ढल्कँदै गयो। उनी बेलाबेलामा पहाडघर गोरखा धाइरहन्थे। ०३८ सालतिर त्रिशूलीको ठाडो भीरमा ‘झुन्डिँदै हल्लिँदै’ दुलो खोपेर बाटो बनाउँदै गरेको देखे। ब्लास्टिङ पड्किएको ठूलो आवाज आउँथ्यो। कसैले बेल्चाले माटो फ्याँकिरहेको देखे। त्यही दृश्यलाई उनले गीत बनाए, ‘गैंती बेल्चा उचालेर, पहरालाई छिचोलेर…।’
कम्युनिस्ट राजनीतिप्रति उनको झुकाव बढ्दै गयो। चितवन त्यस बेला नै वामपन्थी राजनीतिको किल्ला थियो। उनले आफ्नै वरपरका भाइबहिनी जम्मा गरेर सांस्कृतिक परिवार बनाए। उनी आफू हार्मोनियम लिएर गीत गाउँथे। भाइबहिनी नाच्थे। पञ्चायतविरुद्ध थोत्रो हार्मोनियम काँधमा बोकेर पाख्रिन चितवनका प्रायः गाउँमा पुगे।

पाख्रिनको सांस्कृतिक परिवारबारे प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराईहरू परिचित थिए। भारतमा बसेर विभिन्न गतिविधि गरिरहेका उनीहरूले पाख्रिनलाई भारत बोलाए। भारतका नेपालीभाषीका बीचमा सयौं ठाउँमा गीत गाए। अखिल भारतीय नेपाल एकता समाजसँगै भारतको बस्तीबस्ती पुगे। कानपुर, गोरखपुर, राँची, मद्रास, गोरखपुरमा उनी क्रान्तिको गीत गाउँदै हिँडिरहेँ। त्यस बेला उनलाई मानिसहरू घुरेर हेर्थे। कारण उनको अनुहार भारतीय कलाकार कादर खानसँग ठ्याक्कै मिल्थ्यो। पाख्रिनले नेपाली बोलेपछि मानिसहरू हाँस्न थाल्थे।
खुसीराम पाख्रिन युद्धमा बन्दुक होइन, हार्मोनियम लिएर गएका थिए। आवाजविहीनको ‘स्वरसम्राट्’ थिए उनी। युद्धमा नपढेका, गरिब, युगौंदेखि दमित बनाइएका मानिसको निःसर्त सहभागिता थियो भन्ने दस्तावेज हो पाख्रिनको जीवन।

भारत घुम्दै जाँदा उनले नेपालीको बिजोग देखे। नेपाली टोपी लगाएर भारी बोकिरहेका, भाँडा माझिरहेका, कोइलाखानीमा जुग बिताइरहेका नेपाली देखेपछि उनले गीत लेखे, ‘टाढैबाट चिनियो ढाका टोपी लाउनेलाई….।’देशमा प्रचण्ड बाबुरामले युद्ध सुरु गरे। उनलाई नेपाल बोलाइयो। सामना सांस्कृतिक परिवार नामक कलाकार समूह स्थापना गरेर पश्चिम नेपालतिर हिँडे। रोल्पा, रुकुम, अछामदेखि कालीकोटसम्म पुगे। जनताबीचमा गीत गाउँदागाउँदै कैयन जोर चप्पल फटाए। चप्पलसँगै जिन्दगीको महत्वपूर्ण हिस्सा फटाए।

वर्षौं नभेटीकनै आफ्नो छोरा गुमाए। सँगै बाँसुरी बजाउँदै हिँड्ने संगी गुमाए। एउटै थालमा खाएर सुन्दर सपना देख्ने कैयन् जोर आँखा गुमाए। तर, उनले होश कहिल्यै गुमाएनन्। झन् सुन्दर गीत लेखिरहे। आफ्नो छोराको पदचाप हराएको सेनाको ताँती हेर्दै गीत लेखे, ‘लाल झुपडीका मान्छेहरू, महासमरका यात्रीहरू, एउटा सुन्दर सपना बोकी तुफानसँग लड्दैछन्…।’
कैयौं वीर भनिएकाहरू युद्धमैदानबाट बन्दुक छाडेर भागे। नयाँ बिहानीको सपना देखाउनेहरू क्षितिजमा उज्यालो नहुँदै भागे। तर, बूढो शरीर घिसार्दै उनी हार्मोनियम छाडेर कहिल्यै भागेनन्।

युद्धको उत्तराद्र्धतिर प्रचण्ड र बाबुरामबीचको मनमुटाव छताछुल्ल पोखियो। सम्बन्धको तीतोपनलाई भावनाले जोड्ने उपाय निकाले पाख्रिनले। केन्द्रीय समितिको बैठकपछि ‘युद्ध मैदानबाट फर्किंदा’ भन्ने चर्चित गीति अपेरा बनाए। उनको अन्तःस्करणको मर्म अपेरामा व्यक्त भएको थियो। अपेरा हेर्दै प्रचण्ड, बाबुरामसहित सबै रोए। फाट्दै गएको सम्बन्धको धाजामा पाख्रिनले आँसु राखिदिए।
१० वर्ष चलेको युद्ध जनआन्दोलनपछि रोकियो। पाख्रिन उही थोत्रो हार्मोनियम बोकेर काठमाडौं पसे। पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भए। संविधानसभाले चार वर्षको अवधि गुजारेपछि उनी पुनः पार्टी काममा फर्किए। मेची महाकाली जनजागरण अभियान सञ्चालन गर्न थाले। तर, उनी विस्तारै निराश हुँदै गए। फुटले नराम्रोसँग दुखायो उनलाई। प्रचण्डले धोका दिए भन्ने निष्कर्षमा पुगे। किरणको पछि लागे। किरणले पनि माखो नमार्ने ठानेर पुनः फर्केर आए, प्रचण्डकै पार्टीमा।
अब उनी काठमाडौंमा अलपत्र बाँच्न थाले। गीत गाएरै संसार जित्छु भन्ने उनलाई पार्टी ठूलो बोझ हुन थाल्यो। उनले बिग्रँदै गएको पार्टीलाई गाली गर्न थाले। बेलाबेला ती बूढामान्छे भन्थे, ‘युद्धकालमा प्रचण्ड जुन घरमा पुग्थे, त्यो घरको चर्किएको भित्तालाई सेतो कपडाले छोपिन्थ्यो। त्यस बेलादेखि नै प्रचण्डको बानी बिगारे कार्यकर्ताले। फाटेको भित्ता देखाउनुपथ्र्याे प्रचण्डलाई।’

उनी कहिले विप्लवअघि गएर रोए, ‘नेताहरूको वर्ग उत्थान भयो। सांस्कृतिक विचलन मौलायो।’ उनीभन्दा जुनियर पटकपटक मन्त्री हुँदा उनी सडकमा फाटेको जुत्ता घिसार्दै हिँडिरहे। अब उनको भावना बुझिदिने मान्छे पाइन छाड्यो। उनी काठमाडौं आउँदा एक रात ओत लाग्ने ठाउँ पाएनन्।

उनको दुःखद अवसान आन्दोलनजस्तै बन्यो। एक मुठी मीठो खान पाएनन्। ढुक्कले कहिल्यै निदाएनन्। हेर्दाहेर्दै चितवन सहरले उनको घरलाई सुदूर गाउँतर्फ धकेलिदियो। झुपडीमै सीमित भयो उनको कटेरो। उमेरले ६५ वसन्त नाघे पनि सांस्कृतिक टोली बनाएर मेची-महाकाली जागरण अभियान चलाउँछु भन्थे उनी।

उनी युद्धमा बन्दुक होइन, हार्मोनियम लिएर गएका थिए। आवाजविहीनका ‘स्वरसम्राट्’ थिए उनी। नपढेका, गरिब, युगौंदेखि दमित बनाइएका मानिसको युद्धमा निःसर्त सहभागिता थियो भन्ने दस्तावेज हो, पाख्रिनको जीवन।

पेरिस कम्युन ढलेपछि भागेका युजेन पोत्तरले भाग्दाभाग्दै अन्तर्राष्ट्रिय गीत लेखे, ‘उठ, जाग ए भोका नांगा।’ त्यही गीत गाउँदै कत्तिले आफ्नो धन्दा चलाइरहे। कतिले क्रान्तिको परीक्षण गरिरहे। त्यही परीक्षणमा लाखौं पाख्रिनहरूले आफ्नो जीवन होमे। मृत्यु अवश्यम्भावी छ। जन्मसँगै मृत्युको ‘काउन्ट डाउन’ सुरु हुन्छ। तर, कुनै पनि मान्छेको जीवनलाई प्रयोगशालाको कच्चा पदार्थ बनाइनु हुन्न। पाख्रिनको जीवनले यही भन्छ। उनी नयाँ सुन्दर नेपालका लागि युद्धमा होमिएका जनताका गायक थिए।

उनी बेलाबेला भन्थे, ‘जनताको गीत गाउँदागाउँदै मर्न पाइयोस्।’उनको छोरा ‘जनयुद्ध’मा सहिद भएका थिए। प्रकाश दाहाल खुसीरामका सहिद छोराका साथी थिए। उनै प्रकाशको शोकसभामा गीत गाउँदागाउँदै ढले खुसीराम।
शोकसभामा खुसीराम दबिएको स्वरमा गाउँदै थिए,
‘युवाहरू हो, देश तिम्रै हो, भविष्य तिम्रै हो
नयाँ नेपाल बनाउने अभिभारा तिम्रो हो।’ .

प्रकाशित मिति १० मंसिर २०७४, आईतवार ०७:१२
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस