आगामी वर्ष एक हजार मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा थपिदै

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वर्ष करीब एक हजार मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा थपिने जानकारी दिनुभएको छ । यसका साथै उहाँले धेरै भन्दा धेरै विद्युत प्रयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रहसमेत गर्नुभएको छ ।विराटनगरमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको आयोजनामा भएको छलफल कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले पूर्व क्षेत्रमा आउने विद्युतलाई नियमित र गुणस्तरीय बनाउन ट्रान्समिसन लाइनहरु बनाउने कार्य भइरहेको र ढल्केवरमा निर्माण भइरहेको सब–स्टेशन आउदो डिसेम्बरदेखि सञ्चालनमा आएपछि नियमित र गुणस्तरीय विद्युत वितरण हुने जानकारी दिनुभयो ।

उहाँले सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा रहेको विद्युत ट्रिपिङको समस्या चाँडै नै समाधान गर्ने कार्य भइरहेकाले ढुक्क हुन उद्योगी व्यवसायीहरु आश्वस्त पार्नुभयो ।सो कार्यक्रममा पूर्वका उद्योगी व्यवसायीहरुले विद्युत लोडसेडिङको समस्या नभएपनि लो भोल्टेज र ट्रिपिङको समस्याका कारण उद्योग सञ्चालनमा समस्या भइरहेको गुनासो गरेका थिए । यसै अवसरमा नेपाल विद्युत प्राधिकरणलाई गुणस्तरीय सेवा प्रवाह र सुशासनमा लैजाने नीति अनुसार काम भइरहेकोले उद्योगी व्यवसायीहरुलाई पनि सहयोग गर्न कार्यकारी निर्देशक घिसिङले आग्रह गर्नुभएको छ ।

यसैबीच मुख्यमन्त्री शेरधन राईको मध्यस्थतामा ४५ दिनभित्र दुहबी कटहरी ३३ केभि प्रसारण लाइनको निर्माण सम्पन्न गर्ने सहमति भएको छ । मोरङको ग्रामथान गाँउपालिका गिदनियामा करीब ३ किलोमिटर तार तान्न नसक्दा कटहरी सब–स्टेशन चार्ज हुन सकेको छैन ।

प्रकाशित मिति २ कार्तिक २०७६, शनिबार २०:४१
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस