भारतले नेपाली भुमि फिर्ता गर्नु पर्छ भन्ने फडिन्द्रको घरमा प्रहरीद्वारा खानतलासी

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष एवम् ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालको चाबहिलस्थित घरमा पुगेर प्रहरीले छापा मारेको छ । बुधबार बिहान ८ बजे ७ जनाको समूहमा आएका प्रहरीको टोलीले छापा मारेको अभियन्ता नेपालले त्रिशुलीखबरलाई बताएका छन् । नेपाल भर्खरै मात्र स्वीट्जरल्यान्डको जेनेभामा आयोजित मानवअधिकार परिषदको बैठकमा ग्रेटर नेपालको वकालत गरेर फर्केका थिए । उनले बिहीबार विज्ञप्ती निकालेर भारतीय विदेश सचिव विजय गोखले नेपाल आउँदा सांकेतिक विरोध गर्ने जनाएका थिए ।

नेपालका छोरा सुरोत्तमका अनुसार बुबा घरमा नभएको बेला बिहानै सात जनाको प्रहरी टोली आएको र ती मध्ये दुईले खानतलासी गरेका हुन् । उनले भने, ‘बुबा घरमा नभएको भनेपछि दुई जना प्रहरी घरभित्र पसेर छतसम्म पुगे । एकजना सादा पोशाकका र अर्को १ जना बर्दीधारी थिए ।L

फणीन्द्र नेपालले भने खानतलासी र पक्राउ पूर्जी बिना घरभित्रै धरपकडको प्रयास गरिएको भन्दै फेसबुकमार्फत विरोध जनाएका छन् । ‘यस प्रकारको प्रहरी क्रियाकलापले नागरिकको वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको हनन भएसँगै मेरो मानवअधिकारको पनि हनन भएको छ,’ नेपालले भनेका छन्, ‘सरकारले यस्तो आतंक बन्द गरोस् भन्ने चाहन्छु ।

सुरोत्तमका अनुसार केही प्रहरीले खानतलासी गरिरहेका बखत थप ६ जना प्रहरी पनि घरभित्र छिर्न खोजेपछि आफुहरूलाई खानतलासी पुर्जी दिन माग गरेका थिए । प्रवेश गर्न नदिने भन्दै प्रतिवाद गरेपछि प्रहरीहरु फर्किएको सुरोत्तमले बताए । अभियन्ता नेपालले पहिल्यै अनुमान लगाइसकेका थिए र उनले यो संकेत अन्य साथीहरूलाईसमेत सामाजिक सञ्जालमार्फत सजक रहन आव्हान गरेका थिए । उनले लेखेका थिए!!

भारतका विदेश सचिव विजय गोखले भोलि बिहीबार काठमाडाैं आउँदा कसरी र कुन शैलीमा विरोध गर्ने भन्ने विषयमा छलफल हुँदैछ । नेपाल प्रहरीले निगरानी राखेको हुन सक्छ । तसर्थ, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका साथीहरु सचेत र सतर्क भएर बस्नुहोला । उनले विगत १५ बर्षदेखि निरन्तर नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति १४ चैत्र २०७५, बिहीबार १६:३१
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस